९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

कात्तिककाे १३ गते विदा दिन प्रधानमन्त्री ओली सकारात्मक

३ कात्तिक, काठमाडौँ । भाइटीका (किजापूजा)का लागि कात्तिक १३ गते विदा दिन प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिनु भएको छ । पञ्चाङ्ग निर्णायक समितिको निर्णय अनुसार तिहारमा सरकारले कात्तिक १०, ११ र १२ गते मात्र विदा दिने निर्णय गरेपछि संघीय सांसद कृष्णगोपाल श्रेष्ठ, प्रदेश नम्बर तीनका सांसदहरु डाक्टर अजयक्रान्ति शाक्य, राजेश शाक्य, काठमाडौँ महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष चिनिकाजी महर्जनलगायतको टोलीले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी कात्तिक १३ गते पनि विदा दिन आग्रह गरेको थियो । उहाँहरुसँगको भेटमा प्रधानमन्त्री केपी ओली सकारात्मक बन्नुभएको हो ।

‘वडादशैँ, दिपावली जस्ता महान पर्वको आ–आफ्नै खालको संस्कृति र परम्परा रहिआएको छ,’ प्रधानमन्त्री ओलीसँग भेट गरेर फर्किनु भएका सांसद श्रेष्ठले भन्नुभयो, ‘हामीले आज प्रधानमन्त्रीज्युलाई पञ्चाङ्ग समितिले घडी, पला मिलाएर विजया दशमी, भाइटिकालगायतका चाड–पर्वको साईत निकाल्दा नेवाः समूदायको मौलिक संस्कृति र परम्परालाई असर गर्ने गरेको छ । त्यसैले भाइटिका (किजापूजा) पनि त्यस्तै हुनेभयो । कात्तिक १३ मा पनि विदा चाहिन्छ भन्ने जानकारी गरायौँ । उहाँ सकारात्मक हुनुभयो ।’

प्रधानमन्त्री ओलीले सरकारी क्यालेण्डर अनुसार कात्तिक १३ गते विदा उल्लेख नभएकाले यसलाई मन्त्रीपरिषद्बाटै निर्णय गर्ने आश्वासन दिन’भएको पनि श्रेष्ठले जानकारी दिनुभयो । ‘सरकारले पञ्चाङ्गलाई नै आधार मानेर यस्ता महत्वपूर्ण पर्वहरुमा विदा दिँदा नेवाः समूदाय थप मारमा पर्ने गरेका छन्,’ भेटपछि प्रदेश सांसद डा. शाक्यले भन्नुभयो, ‘नेवाः समूदायको परम्परा अनुसार अहिले कात्तिक १२ गते भाइटिका मान्नै नसकिने भएकाले विदाका विषयमा पुनर्विचार गर्न हामीले प्रधानमन्त्रीज्युसँग आग्रह गर्यौँ । उहाँले तपाईँहरु ढुक्क भएर जानुहोस् । म मन्त्रिपरिषद्मा छलफल गरेर सकारात्मक निर्णय लिन्छु भन्नुभएको छ । उहाँ सकारात्मक देखिनु भएको छ ।’

सांसद शाक्यले पञ्चाङ्ग समितिको निर्णयलाई आधार मान्ने हो भने चतुर्दशीमा लक्ष्मीपूजा गर्नुपर्ने बाध्यता हुने र त्यो संभव नहुने पनि प्रष्ट पार्नुभयो । ‘पञ्चाङ्गले ११ गते ९ बजेर ४५ मिनेटसम्म औँसी र १२ गते ७ बजेर ५१ मिनेट सम्म प्रतिप्रदा तिथि भनेको छ । त्यसपछि १२ गते नै भाइटिका भनेको छ,’ उहाँले भन्नुभयो, ‘पञ्चाङ्ग समितिको निर्णय मान्ने हो भने हाम्रो परम्परा अनुसार नेपाल संवत् र म्हपुजा नै हराउँछ ।’

शाक्यका अनुसार नेवाः समूदायको परम्परा अनुसार नेपाल सम्वतको नयाँ वर्ष ११४० कात्तिक १२ गते सूर्योदयसँगै मनाउने र बेलुका म्हपुजा गर्ने चलन छ । ‘नेवाः समूदायको परम्परा अनुसार नेपाल सम्वत नयाँ वर्ष ११४० कात्तिक १२ मा छ । त्यो दिन नेवाः समूदायले दिनभरी धुमधामसँग नेपाल सम्वत मनाउँछन र बेलुका म्हपुजा गर्छन् । तर, पञ्चाङ्ग समिति विहान म्हपुजा गर भन्छ । नेवाः समूदायले विहान म्हपुजा नै गर्दैनन् । नेवाः समूदायले भाइटिका पनि बेलुका नै लगाउने चलन छ ।’

शाक्यले शरीर, मन र बचन शुद्ध होस भनी नेवाः समूदायले म्हपुजा मनाउने गरेको भन्दै नेवाः समुदायको संस्कार भएको पनि उल्लेख गर्नुभयो । ‘त्यसैले नयाँ वर्ष उत्सवका साथ मनाएपछि हामी बेलुका म्हपुजा गर्छौ,’ उहाँले भन्नुभयो, ‘त्यसैले हाम्रो परम्परा अनुसार भाइटिका कात्तिक १३ मै हो, हामीलाई त्यो दिन विदा चाहिन्छ भनेर पटक–पटक भन्दै आएका छौँ । आज प्रधानमन्त्रीले सकारात्मक सन्देश दिनुभएको छ, खुशी छौँ ।’

प्रकाशित मिति : October 20, 2019 at 4:29 pm