७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

दुध, बन्दा, गाँजर र स्याउ मात्र खाने सौराहाको ‘केटो’ चीन जाँदै


१३ वैशाख, चितवन । चितवन राष्ट्रिय निकुञ्जले रत्ननगरको सौराहामा दुध, बन्दा, गाँजर र स्याउ खान दिइ पालनपोषण गरेर राखिएको गैँडाको बच्चा (केटो) चिन जाने तयारीमा छ । केटोको स्वास्थ्य अवस्था राम्रो भएकाले चीन पठाउन लागिएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले चिनियाँ र नेपाली पशु चिकित्सकसहित वन्यजन्तु प्राविधिज्ञको टोलीले लैजान योग्य छ भनेर प्रमाणित गरेमा केटोलाई चीन पठाउन तयार भएको जानकारी दिए ।

अहिले केटोलाई राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाको खोरमा राखेर पालनपोषण गरिँदै आएको छ ।
गएको साउन २८ गते बाढीले बगाएर भारतको शिवपुरीगढी पु¥याएको केटोलाई गत भदौ १० गते उद्धार गरिएको थियो । केटोलाई दैनिक दुध, बन्दा, गाँजर, स्याउ दिने गरिएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका निमित्त कार्यालय प्रमुख रामकुमार अर्यालले अहिले केटो तन्दुरुस्त रहेको बताए । कोषका पशु चिकित्सक डा अमिर षडौलाले नियमित परीक्षण हुने गरेको बताउँदै अहिले स्वास्थ्य राम्रो भएको उल्लेख गरे ।
एक सातादेखि यहाँ टोली परिचालन भएका छन् । आगामी असारभित्रमा दुईजोडी गैँडा चीन पठाउने योजना रहेको निकुञ्जले जनाएको छ । सौराहामा रहेको केटो चीन पठाउन योग्य भए निकुञ्जबाट अरु एक भाले र दुई पोथी नियन्त्रणमा लिइनेछ ।

प्रकाशित मिति : १३ बैशाख २०७५, बिहीबार ११:२०