नेकपाले माग्यो उपनिर्वाचनका लागि सम्भावित उम्मेदवारको सूची, कात्तिक १० भित्र पठाउन निर्देशन
२९ असोज, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उपनिर्वाचनका लागि सम्भावित उम्मेदवारहरुको सूची माग्ने निर्णय गरेको छ ।नेकपाले आसन्न उपनिर्वाचनका लागि सम्भावित उम्मेदवारहरुको सूची कात्तिक १० गतेभित्र सिफारिस गर्न मातहतका पार्टी कमिटीलाई निर्देशन दिने निर्णय गरेको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनका लागि निर्वाचन क्षेत्रको कमिटी र जिल्ला कमिटीलाई तीन-तीन जनाको नाम कात्तिक १० गतेभित्र केन्द्रमा सिफारिस गर्न निर्देशन दिने निर्णय गरेको जानकारी दिए । उनले मातहतका कमिटीको सिफारिसको अाधारमा केन्द्रले उम्मेदावरको निर्णय लिने बताए ।

श्रेष्ठले नगरपालिका र गाउँपालिकाका मेयर, उपमेयर वा अध्यक्ष, उपाध्यक्षको हकमा सम्बन्धित गाउँ वा नगरकमिटी वा जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले उम्मेदवारको निर्णय गर्ने र वडाको हकमा भने सम्बन्धित वडा कमिटीको सिफारिसमा जिल्ला कमिटीले उम्मेदवारको निर्णय गर्ने जानकारी दिए । मंसिर १४ गते रिक्त रहेका पदहरूमा उपनिर्वाचन हुँदैछ । नेकपा बैठकमा चिनियाँ राष्ट्रपति सीको भ्रमणको विषयमा समेत समिक्षा भएको बताइएको छ ।
प्रकाशित मिति : 10:48









