१२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026

सहमति र सहकार्यबाटै लोकतन्त्र बलियो हुन्छः नेतृ कोइराला

२७ असोज, काठमाडौँ । नेपाली काङ्ग्रेसकी नेतृ सुजाता कोइरालाले सहमति, सहकार्य र एकताबाट मात्र लोकतन्त्र बलियो हुने बताउनुभएको छ । गिरिजाप्रसाद कोइराला फाउण्डेशनले आज यहाँ आयोजना गरेको प्रदेश, जिल्ला र विदेश शाखाका प्रतिनिधिका लागि आयोजना गरेको ‘प्रशिक्षण कार्यक्रम’मा उहाँले लोकतन्त्र बलियो भए मात्र मुलुकको विकास हुने बताउनुभयो ।

“गिरिजाप्रसाद कोइरालाले अगाडि बढाउनुभएको सहमति, सहकार्य र एकताको मार्गबाटै शान्ति, लोकतन्त्र र गणतन्त्र संस्थागत भई देशमा समृद्धि आउँछ”, उहाँले भन्नुभयो । नेतृ कोइरालाले लोकतन्त्रलाई बलियो बनाउनका लागि युवा पुस्तालाई अगाडि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । फाउण्डेशनको अमेरिका शाखाका संयोजक सोमनाथ घिमिरेले फाउण्डेशनले गिरिजाबाबुको योगदानलाई विश्वमाझ फैलाउन नयाँ पुस्तालाई तालीम र अनुसन्धानमा लाग्न प्रेरित गर्नुपर्ने बताउनुभयो ।

फाउण्डेशनको ललितपुरका संयोजक जितेन्द्र श्रेष्ठले फाउण्डेशनलाई सामाजिक कार्यक्रमका क्रियाशिल बनाउनुपर्ने धारणा राख्नुभयो । फाउण्डेशनको काठमाडौँ संयोजक अर्जुन पराजुली, रुपन्देहीका संयोजक खेलराज पाण्डे, नवलपुरका संयोजक झपेन्द्र भुसाल, धादिङका संयोजक बामदेव अधिकारी, सङ्खुवासभाका संयोजक चित्रा कार्की अधिकारीलगायतले फाउण्डेशनले जनस्तरमा पुग्ने गरी विभिन्न कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सातै प्रदेशका संयोजक, जिल्ला संयोजक र विदेशस्थित विभिन्न देशका संयोजकको सहभागीता थियो । सामाजिक क्षेत्रमा काम गर्ने उद्देश्यले २०६७ सालमा स्थापना भएको सो फाउण्डेशनले सात प्रदेश, ७७ जिल्ला र विदेशका झण्डै एक दर्जन मुलुकमा शाखा विस्तार गरिसकेको छ ।

प्रकाशित मिति : 22:06