६ कार्तिक २०८१, मंगलवार | Tue Oct 22 2024

ऋणको सिर्जित भयसँग नडराई रेल सम्झाैता गर्नुपर्छः उपप्रमुख थापा

२६ असोज, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं प्रचार विभागका उपप्रमुख सूर्य थापाले चीनसँग रेल सम्झाैता गर्दा ऋणसँग डराउन नहुने बताएका छन । नेपाल चिन हिमालय मैत्रीपूर्ण समाज नेपालले काठमाडाैँमा आयोजना गरेको ‘चिनिया राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको उपादेयता र आर्थिक विकास र आपसी सम्वृद्धिका लागि नेपाल चीनको साझेदारी’ विषयक अन्तरक्रिया कार्यक्रममा उपप्रमुख थापाले ऋण लिएर रेल सम्झौता गर्न हुन्न भनेर हाउगुजी सिर्जना गरिएको भन्दै यसबाट सरकार पछि हट्न नहुने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री र पूर्व पराराष्ट्रमन्त्रीहरूसँग गरेको परामर्श बैठकमा डा बाबुराम भट्टराइ र कांग्रेसले रेलका लागि थोरै पनि ऋण लिन नहुने बताएका थिए भने सार्वजनिक रूपमा रेलका लागि ऋण लिएर देश डुबाउन खोजेको बताएका थिए । भट्टराइ र कांग्रेसले सर्जना गर्न खोजेको भ्रमप्रति संकेत गर्दै उपप्रमुख थापाले आधाभन्दा बढी अनुदान र केही सहुलित ऋण लिएर रेलको परियोजना महत्वपूर्ण रूपमा अघि बढाउनुपर्ने बताए । उनले अहिले अल्पविकसित देशहरूको सूचीमा रहेको नेपालले ऋणमा पाउने सहुलित उपयोग गर्नुपर्नेमा जोड  दिए  ।

उनले भने ‘अहिले अल्पविकसित मुलुकका रूपमा नेपालले जुन सहुलियतपूर्ण ऋण पाउँछ विकाससिल राष्ट्रमा स्तरोन्ती भएपछि पाउँदैन । त्यसकारण नेपाललाइ फेरि पनि ढुंगे युगमै राख्न चाहनेहरूको तर्कमा अड्किएर बस्नु आवश्यक छैन ।’ उनले रेलले उताबाट सामान ल्याएर यताबाट रित्तो जानुपर्छ भन्ने कुतर्कहरू पनि भैरहेको भन्दै यस्ता कुर्तकको पछि लाग्न नहुने बताए । उपप्रमुख थापाले चीनको विकासको मोडल विश्वकै लागि नमुना भएको पनि बताए ।

थापाले सीको नेपाल भ्रमणलाइ बहुआयामिक ढंगबाट व्यख्या गरिनुपर्ने बताए । नेपालको राजकीय भ्रमणमा आउनुअघि सीले भारतको अनौपचारिक भ्रमण गर्नुले तीन देशसँगसँगै हिड्नुपर्छ भन्ने सन्देश दिन खोजेको बताए । उनले सीको विचारधारा र कुटनीति अनुकरणीय रहेको पनि बताए । २३ वर्षपछि चिनियाँ राष्ट्रपतिले नेपालको राजकीय भ्रमण गर्नु सरकार र राष्ट्रकै लागि गौरवको विषय भएको बताए ।

उपप्रमुख थापाले नेपाल भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा भएको सीको यस भ्रमणले पर्यटन प्रवर्द्धनमा समेट टेवा पुग्ने बताए । कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङ, विशेष अतिथि प्रमुख सचेतक देव गुरूङ,  समाजका संरक्षक एवं पूर्वमन्त्री आनन्द पोखरेल र अध्यक्ष बसन्त नेम्वाङ लगायतले मन्तव्य राखेका थिए भने अर्थ राजनीतिक विश्लेसक डा कल्याण राेक्का र डा रूपक सापकोटाले चीनसँग नेपालले लिन सक्ने फाइदाका विषयमा व्याख्या गरेका थिए ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आईतवार ११:०१