चिनियाँ राष्ट्रपति सीको पहिलो राजनीतिक भेट देउवासँग
२५ असोज, काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनपिङको पहिलो राजनीतिक भेट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग हुने भएकाे छ । राष्ट्रपति सीले राजनीतिक भेटघाटकाे सुरूवात प्रमुख प्रतिपक्षी दलका नेता तथा सभापति देउवाबाट सुरु गर्ने देउवाको सचिवालयले जनाएको छ । सभापति देउवा र राष्ट्रपति सीबीच काठमाडौँको सोल्टी होटलमा साँझ ७ः१५ बजे भेट्ने कार्यक्रम रहेको बताइएको छ । देउवा र राष्ट्रपति सीबीच १५ मिनेट भेटघाट हुनेछ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति सीबीच आइतबार साढे १० बजे भेटघाट हुने प्रचण्डको नीजि सचिवालयले जनाएको छ । राष्ट्रपति सी र प्रचण्डबीचको भेटमा पार्टीबीच हुने सहकार्य र दुई देशबीचको आपसी हितका बारेमा छलफल हुने बताइएको छ ।
यस्तै समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई भने रात्री भोजको निमन्त्रणा दिइएको छ । राष्ट्रपति सीसँग यादवको रात्रीभोजमै सामान्य भेटघाट हुनेछ ।
प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार १५:३४