७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

दुई वर्षभित्र सबै क्षतिग्रस्त विद्यालय पुनर्निर्माणः मन्त्री पोखरेल


१२ वैशाख, गोरखा । विनासकारी भूकम्पबाट क्षतिग्रस्त धर्माेदय माध्यमिक विद्यालयको पुनः निर्मित नयाँ भवनको आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले उद्घाटन तथा हस्तान्तरण गर्नुभएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोगको ऋण सहयोगअन्तर्गत ५ करोड ६१ लाखमा १८ महिनामा निर्मित कुल १३ कक्षाकोठाको ५ भूकम्पप्रतिरोधी भवनको मन्त्री पोखरेलले उद्घाटन गर्दै पालुङटार नगरपालिकाका प्रमुख दीपकबाबु कँडेललाई हस्तान्तरण गर्नुभयो ।

मन्त्री पोखरेलले गुणस्तरीय शिक्षाको पूर्वाधारका रुपमा अत्याधूनिक र बालमैत्री भवनको आवश्यकता पर्ने भन्दै आगामी दुई वर्षभित्र सबै क्षतिग्रस्त विद्यालय पुनः निर्माण गरिसक्ने सरकारको लक्ष्य रहेको बताउनुभयो । उहाँले जिम्मा लिएर समयमा पुनः निर्माण नगर्ने दाताको विकल्पका बारेमा पनि सरकारले सोच्ने उल्लेख गर्नुभयो । उहाँले संविधानको कार्यान्वयनका क्रममा आगामी पाँच महिनाभित्र नयाँ शिक्षा ऐन ल्याउने प्रतिबद्धता व्यक्त गर्दै शिक्षकहरुलाई गुणस्तरीय शिक्षा दिन नसक्ने भएमा विद्यालयबाट विदा लिन सुझाव दिनुभयो । मन्त्री पोखरेलले अपाङ्गता भएका विद्यार्थी साजन कुमाललाई विद्यालयमा नयाँ भर्ना गराई अभिभावकत्वसमेत लिनुभयो ।

विसं. २०७२ साल वैशाख १२ गतेको विनासकारी भूकम्प र त्यसपछिका परकम्पबाट जिल्लाका क्षतिग्रस्त ४ सय ४३ मध्ये हालसम्म २ सय ५४ विद्यालय पुनः निर्माण भएको छ । कार्यक्रममा शिक्षा बिभागका महानिर्देशक बाबुराम पौंडेलले शिक्षा क्षेत्रको समग्र विकासको लागी सबैंपक्षको सहकार्यको आवश्यकता रहेको बताउनुभयो । देश संघिय संरचनामा गईसकेकोले संघियता कार्यान्वयनमा सरकारलाई सघाउनुपर्ने पौंडेलले अभिव्यक्ति दिनुभयो ।

राष्ट्रिय पुनः निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) निर्देशक इमनारायण श्रेष्ठले विद्यालय पुनः निर्माणले मुलुकभर क्रमशः गति लिन थालेको जनाउनुभयो । मन्त्री पोखेरलले आजै पालुङ्टार नगरपालिका वडा नम्वर ५ मा रहेको भवानी मावि, भवानी बहुमुखी क्याम्पस, गोरखा पोलिटेक्निटल इन्स्टिच्युट, पालुङ्टार नगरपालिका वडा नम्वर ४ मा रहेको अमरज्योति जनता मावि लुईटेल, पालुङ्टार नगरपालिका वडा नम्वर २ मा रहेको शारदा माविको पनि अवलोकन र निरीक्षण गर्नुभएको थियो ।

प्रकाशित मिति : १२ बैशाख २०७५, बुधबार १९:४५