७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

वैशाख १२ को भूकम्पलाई सम्झदा (मुक्तक)


–श्रीराम श्रेष्ठ
१,
एक्कासी पृथ्वी डगमगाएर आयो भूकम्प
हल्लाउँदै भत्काउँदै दौडेर गयो भूकम्प
डराएर बाँच्नेहरु रुँदारुँदै बाँचेका पो
बिर्सन खोजेथें नबिर्सिने नेपाली भूकम्प ।

२,
ढाल्न खोज्दा नढलेको नुवाकोटे दरवार
पहिचान गर्ने थलो हुनुपर्यो होशियार
भग्नावशेष नबने हुन्थ्यो नेपाली सम्पदा
बुझेको खण्डमा हामी त एउट परिवार ।

 

(श्रेष्ठकै कोरियन शैलीको गीति कविता )
–श्रीराम श्रेष्ठ

बैशाख बाह्र गते कोलाहल मच्चिएछ
मान्छेमा भागदौड किच्चिएर प्राणत्याग
सहरमा लासैलासको थुप्रासँगै झस्किए ।

बैशाख बाह्र गते कालरात्रि पसेपछि
हल्लायो खैलाबैला बिपत्तीमा सबै जना
थुपार्यो एकैपटक लासैलास धुरीमा ।

तर्सेर भागाभाग भूकम्पको दादागिरी
प्रकृति बौलाएछ कोलाहल गाउँबस्ती
घरले थिचेर मर्दा बिर्सिएरै उफ्रेका ।

भूकम्प नआउने बैज्ञानिक अडानमा
संसार हल्लाउने उनीहरु पछारिए
त्रासदी मनहरुले बाँच्नलाइ पुकारे ।

कम्पन हुन थाल्दा डगडग भयो पृथ्वी
डरले चिच्याउँदा मान्छेहरु भागाभाग
सन्तान गुमाएपछि आँसु झार्दै रोएको ।

मनमा भूइचालो थाम्न पनि त्यसै गाह्रो
आत्तिएँ दिनरात सम्झनामा शिथिलता
आपत्ति बिर्सनलाइ दह्रो मुटु खोजेको ।

भूकम्प शत्रु बन्दै मनभित्र घुसेपछि
कहिले कतिखेर पत्तै छैन धक्का दिने
आवाज निकाल्दै खस्दा सुनिएको चित्कार ।

कठोर भुइँचालो आइदिदा कोलाहल
मान्छेमा भागदाैड थिचिएर लासैलास
त्रसिद मन लिएर बस्दाबस्दै भुसुक्क ।

हल्लियो थरथर जमिन नै चिराचिरा
मानव बस्तीहरु क्षणभर मरभूमी
सम्झँदा कहालिलाग्दो बामे सर्नै नसक्ने ।

रातमा सुनसान सन्नाटा छ परिवेश
चिम्लँदै निदाउन खोज्दा खोज्दै डर पस्यो
हल्लिँदा चिरा परेछ भोग्नुपर्ने जीवन ।

बिपत्ति रोकिँदैन खुट्टा चाल्दा कसैगरी
दु:खित भएपछि आत्मबल तोडिजान्छ
भावना बाँडेको देख्दा आत्मीयता गर्भिलो ।

थर्केर एकनास प्रलयमा फसेपछि
जिस्कायो सधैंजसो प्राण धान्न पनि धौधौ
सोचेको सपना भनी भागिहाल्यो बिर्सेर ।

तर्सायो भूकम्पले कमजोर निम्त्याएर
बिचल्ली पर्दैगर्दा होस गुम्ला भन्ने डर
बाँचेर अधकल्चोमा केही हुन्न जीवन ।

सन्त्रास घुसेपछि भुइँचालो मनभित्र
टोलाई एकनास दु:ख मान्दै छटपटी
दु:खद बाढी उफ्रेछ पार लाग्न मुस्किल ।

निर्दयी मनभित्र भूकम्पको दादागिरी
हल्लायो पिङ खेल्दै सातोपुत्लाे गइहाल्यो
डरमा खुम्चिनुपर्दा आफैलाई अँगाल्दा ।

मनमा त्रास लिई बाँच्नुपर्ने विडम्बना
आफुले जहाँ टेक्यो भासिएला भन्ने डर
कहिले आत्माविश्वास आफै झर्छ खुट्टामा ।

प्रकृति फुर्किएछ आफैसँग नाच्दै हाँस्दै
एक्कासि रुख ढल्दै हावा पनि चिच्याउँदा
भूकम्प बौलाएपछि तर्सियको प्रकृति।

डरले सातो गयो मुटु छाम्दा ढुकधढुकी
समाल्नै गाह्रो थियो आफ्नो ब्यथा सम्झिएर
चिम्लेर सोचिरहँदा आफैदेखि तर्सेको ।

राहत पाएपछि सान्त्वनाले मन बुझ्यो
सम्झन्थे विपतमा सहयोगी हातहरु
काँपेको मनमस्तिस्क पन्छाएको भूकम्प ।

बिहानी हुदाहुदै भूकम्पले ढाल्यो सबै
मनमा आँधिहुरी चल्न थाल्दा आँखै चिम्म
सम्झेर विगतलाई पन्छाउँदा कामेछ ।

झस्किन्छ कालो दिन यताउता सन्नाटामा
मनमा डर त्रास हल्लिएछ थरथरी
जमिन फाटिदै जाँदा भागदौड मच्चियो ।

भूँँकम्प जाँदाखेरि मौका छोप्यो ब्यापारीले
सङ्कट बजारमा छैन केही खानेकुरा
भएथ्यो कालो बजारी कारबाही भएन ।
– बट्टार, नुवाकोट

प्रकाशित मिति : १२ बैशाख २०७५, बुधबार १८:३७