महरा-रोशनी प्रकरणः प्रहरी अनुसन्धान सुस्त, विदेशी चासो व्यापक र तीव्र
१७ असोज, काठमाडाैँ । संसद सचिवालयमा काजमा कार्यरत कर्मचारी रोशनी शाही माथि गम्भीर याैनहिंसा गरेको अभियोग लागेपछि सभामुख पद समेत गुमाएका कृष्णबहादुर महराको प्रहरीको अनुसन्धान जति सुस्त देखिएको छ त्यतिनै विदेशी चासो बढेको छ । शुक्रबार संयुक्त राष्ट्रसंघ र छवटा पश्चिमा देशका दूतावासले नेपालमा महिला हिंसाको घटनाहरुको संख्या बढेको भन्दै चासो र चिन्ता व्यक्त गरेको छ ।

महराको याैन प्रकरण विश्वव्यापी बन्नेक्रममा अन्तराष्ट्रिय समुदायले पीडितलाई अन्तर्राष्ट्रिय कानुनअनुसार न्याय सुनिश्चितता गर्न पनि आग्रह गरेका हुन । नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयसँगै, अस्ट्रेलिया, अमेरिका, फ्रान्स, फिनल्यान्ड, स्वीट्जरल्यान्ड र नर्वेको दूताबासले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै पीडितलाई न्याय दिलाउन पक्षमा उभिने बताएका छन । उनीहरूले पीडितलाइ न्यायमा पहुँच दिने, पीडितको पक्षमा उभिने र लिंगको आधारमा हुने हिंसामा शुन्य सहनशीलता अपनाउने जिम्मेवारी सरकारको भएको समेत स्मरण गराएका छन् ।

निर्मला पन्त प्रकरणको विषयमा मात्र उल्लेख गरिएको विज्ञप्तिमा महरा पक्ररणको नाम लिइएको छैन । यद्यपी सेलाइसकेको निर्मला प्रकरण अहिलेको महरा प्रकरणमा जोड्नुको अर्थ बुझ्न त्यति कठिन छैन । उनीहरूले नेपाल सरकारले अन्तर्राष्ट्रिय मापदण्ड तथा महिलाविरुद्ध हुने सबै प्रकारको हिंसालाई अन्त्य गर्ने अभिसन्धिअनुसार सबै आरोपहरुको चाँडो, पूर्ण तथा निष्पक्ष अनुसन्धान गर्नुपर्ने बताएका छन ।

प्रकाशित मिति : 21:02









