१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

शैक्षिक योग्यताको नक्कली प्रमाण पत्र राखेर सेञ्चुरीको सञ्चालक भएका श्रेष्ठले दिए राजिनामा

१६ असोज, काठमाडाैँ । सेञ्चुरी बैंकका सञ्चालक लक्ष्मण कुमार श्रेष्ठले शैक्षिक योग्यताको नक्कली प्रमाण पत्र (नक्कली सर्टिफिकेट) प्रकरण थप विवादित बन्दै गएपछि पदबाट राजिनामा दिएका छन । गत भदाै २६ गते दैनिकीले श्रेष्ठले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको विषय खुलासा गरेको थियो । सञ्चालक श्रेष्ठको नक्कली प्रमाणपत्रको बारेमा सञ्चालकहरूबीच ध्रुवीकरण देखिएपछि उनले राजिनामा दिएको बैंकको उच्चस्रोतले जनाएको छ ।

श्रेष्ठले स्नातक तहको लागि बिहारको एक कलेजको नक्कली सर्टिफिकेट पेश गरेका थिए । श्रेष्ठ सेञ्चुरी बैंकको दुई कार्यकालदेखि सञ्चालक रहँदै आएका थिए । नक्कली प्रमाणपत्र पेश गरेर बैंक सञ्चालक हुनुलाइ अपराध मानिन्छ । सञ्चालक श्रेष्ठले प्रथम कार्यकारी अधिकृत गणेश कुमार श्रेष्ठसँग मिलेर विभिन्न आर्थिक लाभ समेत लिएको अारोप समेत लागेको थियो ।

जसमध्ये कर्मचारीलाई छ्ट्टाइएको शेयर मध्येबाट १० हजार कित्ता शेयर प्रमुख कार्यकारी अधिकृत गणेश कुमार श्रेष्ठको नाममा लिएर उक्त शेयर हाल श्रीमती बिमला श्रेष्ठको नाममा करिब १८ हजार कित्ता रहेको बुझिएको छ । बैंकको प्रबन्धपत्र र नियामलीमा व्यवस्था भएअनुसार संस्थापक शेयरधनी मध्येबाट ३ जना संचालक रहनुपर्नेमा राष्ट्र बैंकले दिएको निर्देशन बिपरित ४ जना संचालक रहेका छन् । यी सबै कुरा जानकारी भएपनि राष्ट्र बैंकले भने कुनै कारबाही गरेको छैन । आर्थिक लाभमा लिप्त सञ्चालक श्रेष्ठ मर्जर समितिको पनि संयोजक बन्न सफल भएका छन् । उनि विवादित छविका सञ्चालक मानिन्छन ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार ११:०४