२९ बैशाख २०८१, शनिबार | Sat May 11 2024

सभामुख महराको भुलः ढाकछोपमा लाग्ने कि राजिनामा दिएर सत्य जाँच्न तयार हुने ?


१४ असोज, काठमाडौँ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि लागेको गम्भीर आरोपका सम्बन्धमा उनले भुल गरेका छन । सत्य जाँच्न तयार हुनुपर्ने र छानविनका लागि अनुरोध गर्नुपर्नेमा आरोपका सम्बन्धमा प्रेस संयोजकको ध्यानाकर्षण गराउनु उनको ठूलो कमजोरी हो । यो कुनै खण्डनको विषय होइन तर उनले प्रेस सल्लाहकार मार्फत खण्डनको प्रयास गरिरहेका छन ।

त्यतिमात्रै होइन महराको गम्भीर महाभुल भनेको पीडित भनिएकी महिलालाई अझै पटक पटक फोन गरेर मेरो राजनीतिक करियर समाप्त हुन्छ, जे नहुनु भैसक्यो, अहिले मिडियामा नबोल्नु भन्दै अनुरोध गर्नु हो । पीडित भनिएकी संसद सचिवालयमा काजमा कार्यरत ती महिलाको सभामुख महरा आइतबार राति पुगेको उनैले पटक फोन गरेर गरेको अनुरोधले पुष्टि गर्छ ।

यता प्रेस सल्लाहकारलाई दिउँसो दुई बजेदेखि नै सभामुख महरा निवासबाट बाहिर ननिस्किएको भन्दै निकालिएको विज्ञप्ति बाझिएको छ । हाम्राकुराले ती महिलासँग गरेको भिडियो कुराकानीकै क्रममा महराले गरेको फोन र गरेको कुराकानीले उनी त्यहाँ गएको पुष्टि हुन्छ । तर विज्ञप्तिमा बाहिर कतै ननिस्किएको भनेर जग हसाउनु र सभामुख र संसदको गरिमाका लागि निश्चय पनि शोभनिय विषय होइन ।

सभामुख बलात्कारको आरोपमा निर्दोष बनुन हामी लगायत सम्पूर्ण नेपालीको कामना हो तर त्यसका लागि उनले कति पनि ढिला नगरी पदबाट राजिनामा दिएर प्रहरीलाई अनुसन्धानमा सघाउनु उत्तम हुन्छ । उनले अब कानुनी रूपमै निर्दोषिता प्रमाणित गर्नुको विकल्प छैन । यसका लागि उनलाई विगतमा उनी आवद्ध भएको पार्टी नेकपाले समेत सुझाव दिनु उपयुक्त हुन्छ ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलवार ०८:०६

https://srdb.com.np/