यथार्थ बुझेर मात्रै पत्रकारले समाचार लेख्नुपर्छ : मन्त्री बाँस्कोटा
१२ असोज, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक, १२ असोजसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारले जुनसुकै विषयमा पनि यथार्थ बुझेर मात्रै समाचार लेख्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाको बनेपामा नवनिर्मित भवन उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उहाँले समाचार सन्सनी बनाउने नाममा मिथ्या समाचार सम्प्रेषण गरिएकामा रोष प्रकट गर्नुभयो ।

मन्त्री बाँस्कोटाले नेपाल पत्रकार महासङ्घको माग सञ्चार मन्त्रालयले पूरा गरिरहेको उल्लेख गर्दै ‘मिडिया हाउस’ले न्यूनतम पारिश्रमिक दिए नदिएका बारे पत्रकार महासङ्घले अनुगमन थालेकामा खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “अब नजिकिएको चाडपर्व दशैँमा पनि श्रमजीवी पत्रकारलाई पारिश्रमिक नदिने मिडिया हाउसमा गएर धर्ना बस्नुस्, अनि म महासङ्घलाई स्याबासी दिउँला ।” महासङ्घले आफ्ना श्रमजीवीको अवस्थाप्रति कडा अनुगमनमा लाग्नुपर्नेमा सरकारलाई ख्याउँख्याउँ मात्रै गरेको उहाँको आरोप थियो । उहाँले आमसञ्चार विषयक विधेयक पारित भएपछि मात्रै सञ्चार प्रतिष्ठान बन्ने स्थानको निक्र्यौल हुने बताउनुभयो ।
मन्त्री बाँस्कोटाले आजै पाँचखाल नगरपालिका–१२ देवभूमि बालुवास्थित आजाद माध्यमिक विद्यालयको अभिभावक भेला एवं शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले गरीबी निवारण गर्नका लागि रोजगारी सिर्जना, सीप, विकास, प्राविधिक शिक्षा तथा जीवनलाई सजिलो बनाउन सेवा क्षेत्रलाई प्रभावकारी बनाउने कार्यक्रम ल्याएको बताउनुभयो ।
यसैगरी आजै उहाँले खानीखोला गाउँपालिकास्थित खुशी समाज युवा क्लबको पर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै भ्रष्टाचारविरुद्ध सरकारसँगै जनता पनि लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य गङ्गाबहादुर दोङ, प्रदेशसभा सदस्य चन्द्र लामा र गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर खुलालले शुभकामना व्यक्त गर्नुभएको थियो ।
प्रकाशित मिति : September 29, 2019 at 7:27 pm



