काठमाडाैँकाे बूढानीलकण्ठमा भन्सार छलेर ल्याएको ५५ लाख मूल्यको कपडा बरामद
महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठले रु ५५ लाख मूल्य पर्ने भन्सार छलेर ल्याएको कपडा बरामद गरेको छ ।सोमबार साँझ बुठानीलकण्ठ नगरपालिका–५ स्थित विष्णुमतीमा पार्किङ गरिराखेको बा५ख ६९३९ नंको पर्यटीय बसमा शङ्काका आधारमा खोजतलास गर्दा उक्त कपडा भेटिएको हो ।

बसको छतमुनि फल्स बटम बनाएर ४१ वटा सेतो बोरामा भन्सार छली गरी ल्याइएका तीन हजार ७०४ थान सर्ट तथा विभिन्न कपडा बरामद गरेको महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिनुभयो । काठमाडौँ–दिल्ली चल्ने उक्त पर्यटकीय बसबाट विभिन्न समयमा पनि भन्सार छली सामग्री ओसारपसार गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।
\बसका चालक तथा बस मालिकको भने अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । उक्त पर्यटकीय बससहित बरामद गरेका सामग्रीको मुचुल्का उठाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाइएको गिरीले जानकारी दिनुभयो ।
प्रकाशित मिति : September 29, 2019 at 11:38 am









