९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

वडाध्यक्षका छोरामाथि कैची प्रहार गरी गम्भीर घाइते बनाउने कलाम मियाँ पक्राउ

१० असोज, धरान । वडाध्यक्षका छोरामाथि कैची प्रहार गर्ने युवक पक्राउ परेका छन् । धरान–९ गौतमपथस्थित कपडा पसलमा कपडा खरीद गर्न गएका पुजन लिम्बूलाई छुरी प्रहार गर्ने अब्दुल भन्ने कलाम मियाँलाई प्रहरीले शुक्रवार बिहान पक्राउ गरेको हाे । लिम्बू धरान–१९ का वडाध्यक्ष पूर्ण लिम्बूका छोरा हुन् । लिम्बूलाई बिहिबार साँझ पसलमै आक्रमण भएको थियो । मियाँले कपडा काट्ने कैचीले पुजनको दाहिनेतर्फको कोखा र पछाडि ढाडको भागमा तीन ठाउँमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

घटनालगत्तै फरार रहेका मियाँलाई धरान–२ भानुचोकमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको इप्रकाका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए । मियाँविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता प्रक्रियामा रहेको र घटनाको कारणबारे अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जनाए । घाइते पुजनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उनकाे कोखाबाट आन्द्रा निस्किएकाले राति नै शल्यक्रिया गरिएको थियो । घाइतेलाई सर्जरी वाडमा राखिएको छ । उनको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् ।

प्रकाशित मिति : September 27, 2019 at 3:20 pm