सञ्चारमन्त्रीको चुनाैतिः ‘१२ अर्ब हैन १२ रूपैयाँ भ्रष्टाचार गरेको प्रमाणित गरेर देखाउनुस्’
९ असोज, काठमाडौँ । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले आफूले भ्रष्टाचार गरेको प्रमाणित गर्न चुनौति दिएका छन । बिहीबार नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले आफूले १२ अर्ब हैन १२ रूपैयाँमात्र भ्रष्टाचार गरेको प्रमाणित गरे पनि कारबाही भोग्न तयार रहेको बताए ।

उनले आफूले यसअघि यस विषयमा संसदीय समितिमा समेत सविस्तार बताएको भन्दै अरोप प्रमाणित गर्न चुनौति दिए । एक पत्रकारले मन्त्री बास्कोटाको एक अनलाइन न्युज पोर्टलमा १२ अर्ब भ्रष्टाचार गरेको भनेर समाचार आएको भन्दै मन्त्रीको जवाफ मागेका थिए । यस्तै मन्त्री बास्कोटाले चिनियाँ राष्ट्रपतिको भ्रमणको तयारी भैरहेको भए पनि मिति तय नभएको जानकारी दिए ।
मन्त्री बास्कोटाले भने ‘मिति तय भएको छैन तय भए पछि हामी जानकारी दिन्छौँ । हामी उहाँको स्वागतका लागि व्यग्र प्रतिक्षा गरिरहेका छौँ ।’ यस्तै चिनिया कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीको कार्यक्रममा सरकारका मन्त्रीहरू किन सहभागी भएको भन्ने प्रश्नमा मन्त्री बास्कोटाले यस्तो प्रश्ननै असुहाउँदो भएको बताए ।
प्रकाशित मिति : 16:52









