८ जेष्ठ २०८३, शुक्रबार | Sat May 23 2026

अब पशुपति क्षेत्रमा रक्सी मासु बन्द, स्थानीय सरकारको समन्वयमा प्रहरीले धमाधम हटाउँदै

९ असोज, काठमाडाैँ । अब पशुपति क्षेत्र साच्चिकै रक्सी र मासु निषेधित क्षेत्र हुने भर्को छ । विश्व सम्पदामा सूचीकृत पशुपति क्षेत्रमा अवैध रूपमा सञ्चालनमा रहेका घरेलु मदिरा, इजाजत प्राप्त मदिरा र मासुजन्य परिकारलाई बडादशैँ र तिहारको आसपास हटाइने भएको हो । त्यस क्षेत्रमा रहेका देवस्थलकै दोब्बर हाराहारीमा रक्सी पसल र रक्सी पिउने भट्टी छन् ।

काठमाडाैँ महानगरपालिका–७ कार्यालय र सामुदायिक प्रहरी साझेदारी कार्यक्रमबाट हटाउने टुङ्गो लागेको वडा सदस्य कृष्णमणि भट्टराई बताउनुहुन्छ । यो क्षेत्रमा सत्तल पाटी घाटसहित देवस्थल ५१८ छन् भने रक्सी पसल र मासु र जाँड पाइने भट्टी पसल पनि उत्तिकै हाराहारीमा छन् । कामना–७ मा मात्र २०० वटा रक्सी पसल र अनगिन्ती भट्टी छन् ।

नेपाल राजपत्रमा प्रकाशित सूचनाले यो क्षेत्र मांस र मदिरा प्रयोग उपयोग र बेचबिखन निषेधित क्षेत्र हो । “सामुदायिक प्रहरी साझेदारी र वडा कार्यालयको पहलमा अवैध मदिरा बिक्री हटाउँदै छौँ, यस विषयमा परामर्श चलिरहेको छ”, काठमाडौँ महानगरपालिका–७ का वडा सदस्य कृष्णमणि भट्टराई भन्नुहुन्छ । गुह्येश्वरी गौरीघाट हुँदै मित्रपार्क सिफल रातोपुल गौशाला हुँदै तिलगङ्गा क्षेत्र पशुपति क्षेत्र हो । यही क्षेत्र रक्सी पिउने भट्टी, रक्सी बेच्ने खुद्रा तथा थोक पसल र मासुका विभिन्न परिकार पाइने रेस्टुराँले भरिभराउ र खचाखच छ । यो समाचार सरोज आचार्यले आजको गोरखापत्रमा लेखेका छन ।

प्रकाशित मिति : September 26, 2019 at 7:09 am