२३ आश्विन २०८३, शुक्रबार | Sat Oct 10 2026

खुद्रा व्यापारीलाई सहकारी ढाँचामा व्यवसाय थाल्न अर्थमन्त्री खतिवडाकाे सुझाव

७ असोज, काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले सानासाना पूँजी र क्षेत्रमा रहेर व्यापार गर्दै आएका खुद्रा व्यापारीलाई सङ्गठित भएर एकीकृत रुपमा कारोवार गर्न सुझाव दिनुभएको छ । नेपाल खुद्रा व्यापार सङ्घको ४०औँ वार्षिक साधारणसभामा उहाँले सबै खुद्रा व्यापारी एक भएर सहकारी ढाँचामा व्यवसाय गर्न आग्रह गर्नुभयो ।

“अब खुद्रा व्यापारी पनि सङ्गठित हुनुपर्छ, सहकारी ढाँचामा व्यवसाय थाल्नुपर्छ”, उहाँले भन्नुभयो, “सहकारी ‘मोडल’मा गएपछि ठूला खुद्रा बिक्रेतासँग प्रतिस्पर्धा गर्न पनि सहज हुन्छ ।”

खुद्रा व्यापारमा नेपाली पूँजीको प्रवद्र्धन गर्न यस क्षेत्रमा विदेशी लगानीमा रोक लगाइएको स्पष्ट पार्दै अर्थमन्त्रीले स्वदेशी ठूला व्यापारीसँग प्रतिस्पर्धा गर्न खुद्रा व्यापारी पनि सङ्गठित भएर लाग्नुपर्ने बताउनुभयो । खुद्रा व्यापारमा देखिएको समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गर्दै उहाँले व्यापारिक सीमा र मर्यादाभित्र रहेर कारोवार गर्न आग्रह गर्नुभयो ।

उहाँले कानूनले सबै व्यापारीलाई समान नजरले व्यवहार गर्ने बताउनुभयो । “यसअघि सानालाई ऐन, ठूलालाई चैन थियो होला”, उहाँले भन्नुभयो, “तर अहिले ठूला तथा साना सबैलाई ऐन आकर्षित हुन्छ । सानाको नाउँमा खुद्रा व्यापारीलाई पनि चैन हुँदैन ।” बजारलाई मर्यादित र व्यवस्थित बनाउन आग्रह गर्दै अर्थमन्त्री डा खतिवडाले भन्नुभयो, “अब सबै सुध्रने हो, पहिला हामी सुध्रन्छौँ, अनि व्यापारी पनि सुध्रनुपर्छ ।”

व्यापार व्यवसायलाई पारदर्शी बनाउन सरकारले ‘प्यान’ र मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली ‘भिसिटिएस’ लागू गरेको उल्लेख गर्दैै उहाँले कोही पनि व्यवसायी त्रासमा हुनु आवश्यक नभएको बताउनुभयो । बजार अनुगमनका क्रममा ज्यादती गरिएको पाइए कारवाही हुनेमा विश्वस्त गराउँदै उहाँले अनुगमन टोली आउँदा नडराउन आग्रह गर्नुभयो ।

मूल्यसूची राख्ने, बिलबिजक जारी गर्ने विषयमा व्यापारी प्रतिबद्ध हुनुपर्नेमा जोड दिँदै अर्थमन्त्री खतिवडाले सरकार खुद्रा व्यापारीलाई सहजीकण गर्न तयार रहेको बताउनुभयो ।

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले खुद्रा व्यवसायीलाई व्यापारमा सहजीकरण गर्न सरकारसँग आग्रह गर्नुभयो । उहाँले उपभोक्ता हितको बर्खिलाप नहुने गरी व्यापार गर्न खुद्रा व्यापारीलाई सचेत गराउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष किशोर प्रधानले सरकारले ल्याएको ऐन, नियम, कानूनका बारेमा पर्याप्त जानकारी नराख्दा व्यापारीले अनावश्यक झमेला खेप्नु परेको उल्लेख गर्दै अब उप्रान्त सामान खरीदबिक्री गर्दा अनिवार्यरुपमा बिलबिजक जारी गर्न आग्रह गर्नुभयो ।

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले खुद्रा व्यापारीलाई सङ्गठित भएर व्यापार व्यवसायमा लाग्न आग्रह गर्नुभयो । भूलवश हुने गल्तीको पनि व्यापारीले ठूलो सजाय भोग्नु परेको उदाहरण दिँदै उहाँले चर्को जरिवाना र कैदको व्यवस्थाले व्यापारीमा त्रास सिर्जना गरेको बताउनुभयो । “बिल बिनाको सामान खरीद र बिक्री नगर्न सङ्घले आफ्ना सदस्यलाई सचेत गराउनुपर्छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा सङ्घका पूर्वअध्यक्ष पवित्र बज्राचार्यले सरकारले बजार व्यवस्थित गर्ने नाउँमा ल्याएको नयाँनयाँ प्रावधानले व्यवसायीलाई भय पैदा गरेको बताउँदै खुद्रा व्यापारीलाई अप्ठ्यारोमा पार्नेभन्दा पनि सरकारी व्यापारमा सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले खुद्रा व्यापारीको कारोवारको सीमा रु ५० लाखबाट बढाएर रु एक करोड पु¥याउन आग्रह गर्नुभयो । सो अवसरमा यस वर्षको एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउन खुद्रा व्यापारीका चार सन्ततिलाई ‘स्व गङ्गाबहादुर मानन्धर छात्रवृत्ति’ प्रदान गरिएको थियो । छात्रवृत्ति प्राप्त गर्नेमा आश्या प्रजापति, आयुश्मा प्रजापति, रुविसा कर्माचार्य र कल्याण खनाल हुनुहुन्छ ।

प्रकाशित मिति : September 24, 2019 at 7:00 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/