११ बैशाख २०८३, शुक्रबार | Sat Apr 25 2026

वैदेशिक रोजागार व्यवसायीको कुरा सुन्छु तर त्यो व्यवहारिक हुनुपर्छः मन्त्री विष्ट (भिडियोसहित)

७ असोज, काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले व्यवसायीलाई दुःख दिने सरकारको नियत नरहेको प्रष्ट पार्दै सरोकारवाला निकायको तर्फबाट कुनै कमजोरी भए तत्काल सुधार गरिने बताउनुभएको छ । मंगलबार नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको काठमाडाैँमा आयोजित २७ औँ वार्षिक साधारणसभामा बोल्दै उहाँले भन्नुभयो “व्यवसायीसँग कुनै वैरभाव छैन, म मन्त्री रहुन्जेल यस क्षेत्रको सुधारको पक्षमा काम गरिरहन्छु”, उहाँले भन्नुभयो, “व्यवसायीको समस्या सुन्न चाहन्छु एक्लाएक्लै भए पनि समूहगत भए पनि म व्यवसायीको समस्या सुन्छु तर त्यो व्यवहारिक हुनुपर्छ । यो सरकार व्यवसायीकै हो ।”

व्यवसायीको सुझाव सरकारले ग्रहण गर्ने उल्लेख गर्दै मन्त्री विष्टले सरकार र व्यवसायीबीचको छलफललाई औचित्यपूर्ण बनाउन आग्रह गर्नुभयो । “व्यवसायीको समस्या पनि सुनौला, आमजनताको समस्या पनि सरकारले सुन्नै पर्छ । रोजगारीका खोजीमा लाखौँ युवा बाहिरिएका छन्, ती युवाको जीवन सुरक्षित बनाउने काम सरकारले गर्नुपर्दछ”, उहाँले भन्नुभयो ।

वैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाउन नेपालले अन्तर्राष्ट्रिय मञ्चमा प्रतिबद्धता गरेको सन्दर्भ पेश गर्दै मन्त्री विष्टले आप्रवासन क्षेत्रलाई थप पारदर्शी, सुरक्षित र मर्यादित बनाउन जरुरी रहेको बताउनुभयो । वैदेशिक रोजगार विभागका महानिर्देक डा भीष्मकुमार भुसालले प्रणालीको सुधारको पक्षमा विभागसँग हातेमालो गर्न व्यवासायीलाई आग्रह गर्नुभयो ।

प्रकाशित मिति : 12:29