१३ जेष्ठ २०८१, आईतवार | Mon May 27 2024

रामेछाप कप फुटसलकाे उपाधि अनेरास्ववियूलाई


काठमाडौं । अनेरास्ववियू रामेछापले प्रथम रामेछाप कप फुटसल प्रतियोगिताको उपाधि जितेको छ । आइतबार भएको फाइनल खेलमा लिखु भुजी युवा क्लब रामेछापलाई टाई ब्रेकरमा २–० ले पराजित गर्दै अनेरास्ववियूले उपाधि जितेको हो । शान्तिनगरस्थित शान्तिनगर फुटसलमा भएको फाइनल खेल निर्धारित समयसम्म गोलरहित टुङ्गिएपछि टाई ब्रेकरमार्फत विजेताको टुङ्गो लगाइएको थियो । टाई ब्रेकरमा अनेरास्ववियूका दुई खेलाडीले गोल गर्दा लिखु भुजीका कुनै पनि खेलाडीले गोल गर्न सकेनन् ।

यस्तै, डाइनामिक युथले तेस्रो स्थान हात पार्यो । तेस्रो स्थानका लागि आइतबार नै भएको खेलमा महाकाली युवा क्लबलाई २–० ले पराजित गर्दै डाइनामिक तेस्रो भएको हो । डाइनामिकका लागि नविन गुरुङ र समिर तामाङले एक/एक गोल गरेका थिए । उपाधिसँगै अनेरास्ववियूले २५ हजार प्राप्त गरेको छ । यस्तै, दोस्रो भएको लिखु भुजीले १५ हजार र तेस्रो भएको डाइनामिकले १० हजार पुरस्कार प्राप्त गरेको छ ।

विजेता टोली र खेलाडीहरूलाई रामेछाप जिल्लाका सांसद श्यामकुमार श्रेष्ठ, जिल्ला विकास खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष पुरुशोत्तम कडेरिया, भलिवलका राष्ट्रिय रेफ्री सिताराम कार्की, व्यवसायी राकेश श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।

विजेता टोलीलाई शुभकामना दिदै सांसद श्रेष्ठले समाचारमार्फत सबैलाई सूसुचित गर्ने पत्रकारहरूले फुटसल प्रतियोगितामार्फत जिल्लाबासीलाई जोड्ने महत्वपूर्ण काम गरेको बताएका थिए ।
रामेछाप–काठमाडौं पत्रकार समाजले आयोजना गरेको प्रतियोगितामा रामेछाप जिल्ला भरिबाट २७ टोलीले सहभागीता जनाएका थिए । सहभागी टोलीलाई आठ समूहमा विभाजन गरी प्रतियोगिताको सञ्चालन गरिएको थियो ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार ११:५७