नेपाल प्रहरीमा व्यापक भ्रष्टाचार, लुकाउन खोजिएका खरिदका कागजात अख्तियारको नियन्त्रणमा
६ असोज, काठमाडौँ । नेपाल प्रहरीमा व्यापक भ्रष्टाचार भएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पछिल्लो दुइ वर्ष यताका खरिदका सबै कागजात नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । लत्ताकपडा, सवारीलगायत बन्दोबस्तीका सामान खरिदमा घोटला भएको आशंकामा आयोगले प्रहरी प्रधान कार्यालयबाट पछिल्ला २ वर्षका कागजात नियन्त्रणमा लिएको छ ।

आयोगको विशेष टोलीले नेपाल प्रहरी मुख्यालयस्थित प्रशासन विभागअन्तर्गत आर्थिक प्रशासन महाशाखा र प्रबन्ध शाखाबाट विभिन्न पोसाक, सवारी साधनलगायत बन्दोबस्तीका सामान खरिदका सक्कली कागजात लगेको हो । प्रहरी मुख्यालयलाई पत्र लेखेर खरिदका आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिँदा अटेर गरिएकोले आफैँ गएर नियन्त्रणमा लिइएको हो । आयोगले यसअघि देखिनै परीक्षण फेल भएर फिर्ता गरिएका डिएम बुट स्वीकार गरेको विषयम पनि अनुसन्धान गरिरहेको छ ।

विवादित छवीका व्यापरी दिपक मलहोत्रा र प्रहरी प्रमुख सर्वेन्द्र खनालको सम्बन्ध सुमधुर बनाउन समेत त्यही डिएम बुटले काम गरेको प्रहरी स्रोतले जनाएको छ । फिर्ता भैसकेका डिएम बुट स्वीकार गराउनका लागि केही पत्रकारले विचौलियाको काम गरेको पनि अख्तियरामा परेको उजुरीमा खुलाइएको छ ।
अतिविशिष्ट तथा विशिष्ट व्यक्ति (भीभीआईपी/भीआईपी) का लागि किनिएका ३० थान एस्कर्टिङ मोटरसाइकलमा पनि घोटाला भएको उजुरीमा अख्तियारले छानबिन गरिरहेको छ । दुई साताअघि आयोगले कागजात नियन्त्रणमा लिए पनि दुवै निकायले यसलाई गोप्य राखेका छन् । स्रोतका अनुसार अख्तियारले भदौ २० गते प्रहरी मुख्यालयबाट कागजात नियन्त्रणमा लिएको हो । अख्तियार र प्रहरी दुवै निकायका अधिकारीले खरिद घोटालासम्बन्धी छानबिनबारे औपचारिक प्रतिक्रियादिन चाहेका छैनन् ।

०७५ मंसिर ३ गते पहिलोपटक सूचना निकालेर पुस २६ गते स्वीकृत गरिएको ३० थान कारकेड मोटरसाइकल (एस्कर्टिङ बाइक) १२ करोड ३७ लाख १६ हजार ८ सय १४ रुपैयाँमा भीजी अटो मोबाइल प्रालि (भीमसेनगोला) लाई प्रदान गरियो । सुरुको बोलपत्र आह्वान गर्दा भएको प्रावधानविपरीत ०७५ मंसिर २३ गते (मंसिर ३ गतेको सूचना संशोधन) कम्तीमा खरिद गरिने एस्कर्टिङ नेपाली बजारमा एक वर्ष प्रयोगमा आइसकेको हुनुपर्ने उल्लेख गरेको तर पछि ‘क्वालिफिकेसन क्राइटेरिया’ को एक वर्ष भन्ने प्रावधान हटाएर कम्तीमा ३ वर्ष हुनुपर्ने राखियो । यो समाचार आजको कान्तिपुर दैनिकमा मात्रिका दाहालले लेखेका छन । कान्तिपुरको समाचार तल पढ्न सक्नुहुन्छ ।


प्रकाशित मिति : September 23, 2019 at 7:52 am









