८ जेष्ठ २०८३, शुक्रबार | Sat May 23 2026

प्रदेश ३ मा ‘एक विद्यार्थी एक बिरुवा’ कार्यक्रम शुरु

५ असोज, हेटौँडा । प्रदेश ३ मा ‘एक विद्यार्थी एक बिरुवा’ कार्यक्रम शुरु भएको छ । हेटौँडा– ८ स्थित चन्द्रोदय माध्यामिक विद्यालय परिसरमा आज विभिन्न जातका बिरुवा रोप्दै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले यस्ता कार्यक्रममा बढी फलफूलका बिरुवा रोप्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले स्थानीय जातका फलफूल बोटबाटै टिपेर खान मिल्नेगरी बिरुवा रोप्न र यस कार्यक्रमलाई औपचारिकतामा मात्र सीमित नगरी प्रतिफल आउने गरी काम गर्न अनुरोध गर्नुभयो । ‘एक विद्यार्थी एक बिरुवा’ कार्यक्रम प्रदेश ३ का सबै सामुदायिक विद्यालयमा लागू हुने जनाइएको छ ।

आजै मुख्यमन्त्री पौडेलसहित उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेल, प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद जोशी, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाललगायतले उक्त विद्यालय परिसरमा आँप, कटहर, घ्युफल, लिची, अम्बा, अमला, तेजपात, नास्पाती, हलुवावेद, रुद्राक्षलगायत वनस्पतिका २०० बिरुवा रोप्नुभएको हेटौँडा डिभिजन वन कार्यालयका सहायक वन अधिकृत अच्युत उपाध्यायले जानकारी दिनुभयो ।

विद्यालय हरित कार्यक्रममा एक विद्यार्थी एक बिरुवाका लागि प्रदेश सरकारले १५ डिभिजन कार्यालयमार्फत १३ जिल्लामा १३ हजार २०० बिरुवा रोप्ने लक्ष्य लिएको बताइएको छ । कार्यक्रम लागू भएका विद्यालयमा विद्यार्थीको सङ्ख्याअनुसार बिरुवा रोप्ने र विद्यालयले विद्यार्थीलाई नै बिरुवा संरक्षणको जिम्मा दिइने भएको छ ।

प्रकाशित मिति : September 22, 2019 at 2:42 pm