८ जेष्ठ २०८३, शुक्रबार | Sat May 23 2026

राजनीतिक शुद्धिकरणका लागि युवा सक्रिय हुनुपर्छ : अध्यक्ष तिमिल्सिना

४ असोज, काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक शुद्धिकरणका लागि युवाहरुले चासो दिनुपर्ने बताउनुभएको छ । ‘नेपाल युथ एसडीजी सम्मिट’को शनिबार उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले देश र समाज परिवर्तका लागि राजनीतिमा युवालाई चासो दिन आग्रह गर्नुभएको हो ।

‘लामो राजनीतिक आन्दोलन र अभियानपछि देश स्थिरतातर्फ अगाडि बढेको छ,’ अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, ‘अब राजनीति र समाजलाई शुद्धिकरण गर्दै देशलाई समृद्धितर्फ अगाडि बढाउन युवा सक्रियता आवश्यक छ ।’

नेपाल जस्तो सुन्दर र प्राकृतिक रुपमा विविधतापूर्ण देश गरीब हुनु बिडम्वनापूर्ण भएको बताउँदै तिमिल्सिनाले देश विकासका लागि नेतृत्व लिन युवालाई आग्रह गर्नुभयो । ‘अहिले देशमा तीन पुस्ता सक्रिय छ, पहिलो २०४६ अगाडिको पुस्ता, जसले स्वतन्त्रता र प्रजातन्त्रका लागि लड्यो । दोस्रो पुस्ताले विभिन्न संघर्षमार्फत निरंकुश राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र स्थापना गराउन सफल भयो,’ उहाँले भन्नुभयो, ‘त्यसपछिको युवा पुस्ताले अहिलेसम्म हासिल उपलब्धीलाई संस्थागत गर्दै देशलाई समृद्ध बनाउनका लागि नेतृत्व गर्ने हो ।’

अधिकांश युवाको उपस्थिति रहेको कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले देशलाई गाली गर्दै युवा विदेश पलायन हुने क्रम नरोकिएमा देश नबन्ने दाबी गर्नुभयो । ‘राजनीति गरेर चुनाव नै लड्नुपर्छ भन्ने होइन । कुन दललाई समर्थन गर्ने भन्ने पनि व्यक्तिको रोजाइ हो । तर, राजनीतिप्रति चासोचाहीँ राख्नुस्,’ उहाँको सुझाव थियो ।

दिगो विकास लक्ष्य घोषणाको चौथो वर्ष पुगेको अवसरमा आयोजित समिक्षात्मक कार्यक्रममा उपस्थित युवालाई अध्यक्ष तिमिल्सिनाले भावनात्मक भएर प्रतिक्रिया दिने वा निर्णय गर्ने नभई गहिरो छलफल गरेर निष्कर्समा पुग्न आग्रह गर्नुभयो ।

दिगो विकासका लक्ष्यहरु नेपालको राष्ट्रिय लक्ष्य भएको बताउँदै उहाँले त्यसका लागि संसद, तीन तहका सरकार र सबै यससँग सम्बद्ध संस्था सक्रिय हुन आवश्यक रहेको धारणा राख्नुभयो ।

युथ एड्भोकेसी नेपाल र नेपाल एसडीजी फोरमको संयोजन, राष्ट्रिय योजना आयोग, युनेस्को, भीएसओ नेपाल, एक्सन एड नेपालको सहकार्य र २५ भन्दा बढी गैरसरकारी संस्थाको आयोजनामा शुरु भएको कार्यक्रम एक सातासम्म चल्ने युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन खतिवडाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : September 21, 2019 at 6:19 pm