८ जेष्ठ २०८३, शुक्रबार | Sat May 23 2026

लागुऔषधसहित चार युवक पक्राउ

३ असोज, सिराहा ।  प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले जिल्लाको छुट्टाछुटै स्थानबाट चार युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टिबाट खटिएको टोलीले बिहीबार साँझ भारतबाट नेपालतर्फ आउँदै गरेको स९प ४०२४ नंको मोटरसाइकल जाँच गर्दा लागुऔषधसहित उदयपुरको रौतामाई गाउँपालिका–९ मुरकुच्ची निवासी ३१ वर्षीय राजु तामाङलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङका साथबाट लागुऔषध डाइजिल्याब १३ एम्पुल, नोफिलन १३ एम्पुल, फेनारगन १३ एम्पुल र नाइट्रोसन २४ ट्याबलेटलगायत बरामद भएको प्रहरीले जनाएको छ ।

यस्तै प्रहरीले सिरहाको बरियारपट्टि गाउँपालिका–३ बाट लागुऔषधसहित गोलबजार नगरपालिका–१ निवासी २५ वर्षीय मोहम्मद कलाम अन्सारीलाई पक्राउ गरेको हो । अन्सारीका साथबाट नाइट्रोभेट ४५ पिस, ५० ग्राम गाँजासमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

त्यस्तै लागुऔषध गाँजासहित प्रहरीले सिरहाको धनगढीमाई नगरपालिका–३ कसाहा घर भई सिरहाकै कर्जन्हा नगरपालिका–३ खैराटोल बस्ने ३६ वर्षीय प्रमोद यादवलाई पक्राउ गरेको छ । आफ्नै घरमा लागुऔषध गाँजा लुकाइछिपाई बिक्री वितरण गरिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरी टोलीले कागजमा पोका पारेको ११० ग्राम गाँजासहित यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

त्यस्तै प्रतिबन्धित लागुऔषधसहित सिरहाको लहान नगरपालिकास्थित गाढाबाट लहान नगरपालिका–१ निवासी १९ वर्षीय रामअवतार साहलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले फेनागन, नाइट्रोसन, डाइजोल्यापलगायत ९९ थान लागुऔषधसहित साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : September 20, 2019 at 11:28 am