आवश्यकता र औचित्यका आधारमा मात्र संविधान संशोधनः उपप्रधानमन्त्री पोखरेल
३ असोज, काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुने बताउनुभएको छ । संविधान दिवसको अवसरमा बिहीबार उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समिति र प्रशासकीय अदालतले आज यहाँ आयोजना गरेको ‘संविधान कार्यान्वयन ः उपलब्धि र आगामी मार्गचित्र’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले संविधानका कार्यान्वयनका केही चुनौती रहेकाले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गरिने बताउनुभयो ।

उहाँ संविधानमा उल्लेख गरिएका केही कुरा कार्यान्वयन गराउन चुनौती रहेकाले त्यस्ता चुनौतीको बारेमा ध्यान जान जरुरी रहेको धारणा राख्नुभयो । “मौलिक हक रहेको स्वास्थ्य र शिक्षामा सबैको सहज पहुँच पु¥याउन समस्या रहेको छ । गरीबी निवारणका बारेमा अहिलेकै प्रणालीबाट ठोस र परिमाण दिन सक्न पनि चुनौती रहेको छ”, उहाँले भन्नुभयो, “चुनौतीलाई समाधान गर्न संविधान संशोधन आवश्यक रहेको छ ।” उहाँले अहिलेको न्यायप्रणालीबाट आम नागरिकले न्याय प्राप्त गरेको अनुभव पाउनुपर्ने भए तापनि त्यसो हुन नसकेको बताउनुभयो । उहाँले १५ आँै योजनाले तय गरेका लक्ष्य पूरा गर्न पनि अहिलेको संविधानबाट चुनौती रहेको बताउनुभयो ।
संविधानका चुनौतीलाई चिर्दै संविधानको गतिशीलता प्रदान गरेर मुलुकलाई समृद्धि बनाउनुपर्ने उहाँको भनाइ रहेको थियो । उहाँले संविधानमा व्यवस्था गरिएको निर्वाचन प्रणाली पनि खर्चिलो भएकाले संशोधनको आवश्यकता रहेको बताउनुभयो । उहाँले सरकारले संविधान संशोधन गर्न नचाहेको भनेर भ्रम छर्न खोजिरहेको बताउनुभयो ।
“सरकारले संविधान संशोधन गर्न नचाहेको खोजिरहेको भनेर केही समूहले भन्ने गरेका छन् । यो सत्य होइन” उहाँले भन्नुभयो, “संविधानमा नै संशोधनको व्यवस्था गरिएकाले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुन्छ ।” रक्षामन्त्री पोखरेलले संविधान हतारमा नभई विधि प्रक्रियाबाट जारी गरिएको जानकारी गराउनुभयो ।
प्रकाशित मिति : 07:34









