९ कार्तिक २०८३, आइतबार | Sun Oct 25 2026

तीन महिनादेखि बन्द रहेको स्याफ्रु–मैलुङ सडक पुनः सञ्चालन

३१ भदाै, रसुवा । असारको दोस्रो सातादेखि अवरुद्ध स्याफ्रु–मैलुङ खण्डको अन्तरराष्ट्रिय केरूङ राजमार्ग आजदेखि पुनः सञ्चालनमा आएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार चार दिनको अन्तरालमा राजमार्गका पहिरा हटाउनुका साथै धुञ्चे पुछारको ठाडो त्रिशूली खोलामा हिमपाइप र ग्याबिन बक्साको सहायताले आज साँझ ६ बजेदेखि राजमार्ग पुनः सञ्चालनमा ल्याइएको हो ।

सत्र किलो मिटर दुरीको राजमार्ग मर्मत सुधार गरेलगत्तै केरूङबाट सामान लिइआएका सयौँ कन्टेनर राजधानीतर्फ प्रस्थान गरिरहेको ट्राफिक प्रहरीले जनाएको छ । स्याफ्रु–मैलुङ खण्डको बन्द राजमार्ग पुनःसुचारू गर्न रसुवाका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष अर्जुन भण्डारी खटिनुभएको थियो । त्यसैगरी राजमार्गको अवरोध हटाउन प्रतिनिधिसभा सदस्य मोहन आचार्य र प्रदेशसभा सदस्य त्रय प्रेम तामाङ, प्रभात लामा, शान्ति थिङ र गोशाइकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला पार्टी अध्यक्ष कन्र्याल तामाङ र नेपाली काङ्ग्रेस जिल्ला सभापति पेम्बा छिरिङ तामाङले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

यसैगरी राजमार्ग पुनःसञ्चालनका लागि मैलुङ–स्याफ्रुबेँसी सडक सुधार आयोजना, डिभिजन सडक कार्यालय नुवाकोट, कालिका तथा उत्तरगया गाउँपालिका रसुवागढी, चिलिमे तथा साञ्जेन हाइड्रो पावर, संविधानसभा सदस्य जर्नादन ढकाल, रसुवाका सम्पूर्ण जनप्रतिनिधिहरू, सामाजिक अभियन्ताको सहयोग रहेको जिल्ला समन्वय प्रमुख कुलप्रसाद भट्टले जानकारी दिनुभयो ।

मेशिनले गर्ने बाहेक ग्याबिन भर्नेलगायत हातले गर्ने सम्पूर्ण काम नेपाली सेना कालीजङ्ग गण, सशस्त्र प्रहरी र नेपाल प्रहरीले गरेको प्रजिअ भण्डारीले बताउनुभयो । बोकेझुण्डा, सोले भिमलीको ठाडो खोलामा हिमपाइप र धुञ्चे पुछारको त्रिशूली खोलामा ढुङ्गाले भरेको ग्याबिनका बाक्सा खोलाको जमिन सतहमा मेशिनले पठाइ त्यसभन्दा माथि हिमपाइप बिछ्याएर सवारी साधन गुढाउने संरचना बनाइएको गोसाइँकुण्ड गाउँपालिकाले जनाएको छ ।

राजमार्ग खुलेलगत्तै दशैँका लागि व्यापारीले केरूङबाट ल्याएका तयारी पोशाक, जुत्ता चप्पल, स्याउ, अदुवा, लसुनजस्ता सामग्री बोकेका करीब ७०० ट्रक तथा कन्टेनर राजधानीतर्फ प्रस्थान गर्न थालेको प्रहरी नायब उपरीक्षक भाग्येन्द्र पुरूष ढकालले बताउनुभयो । रासस

प्रकाशित मिति : September 17, 2019 at 10:35 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/