राष्ट्रिय वाणिज्य बैंकको २३८ औं शाखा देशकै उच्च हिमाली मानव बस्ती डोल्पोबुद्ध गाउँपालिकामा
२९ भदौ, डोल्पा । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशकै उच्च हिमाली मानवबस्ती भएको स्थान डोल्पा जिल्लाको डोल्पोबुद्ध गाउँपालिकामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेल र सांसद जर्नादन शर्मा प्रभाकरले एक समारोहकाबीच संयुक्त रुपमा बैंकको २ सय ३८ औं शाखा कार्यालयको समुदघाट्न गरेका हुन् ।
कार्यालयको उद्घाट्नकाे अवसरमा नेपाल सरकारका मान्नीय उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले सरकारी बैंकले देशकै उच्च हिमाली मानवबस्ती भएको स्थानमा शाखा सञ्चालन गरि बित्तीय पहुँच पुर्याएकोमा बैंकको थप प्रगतिका लागि शुभकामना व्यक्त गरे ।
बैंकको ५ नम्बर प्रदेश कार्यालय नेपालगञ्जका प्रादेशिक प्रबन्धक आनन्द सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा सुवेदीले बैंकका प्रमुख कार्यकारी अधिकृतले बैकलाई तोकिएका सबै स्थानीय निकायमा बैंकको पहुँच पुगेको सन्देश सम्प्रेषण गरेका थिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धन बहादुर बुढा, कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल, उद्योग, पर्यटन तथा वाताबरण मन्त्री नन्दसिंह बुढा, कर्णाली प्रदेशसभाका उपसभामुख पुष्पा घर्ति तथा प्रदेश सांसद बदामी कुमारी बोहोराको उपस्थिति रहेको थियो ।
डोल्पा जिल्लाको छार्काताङ्गसोङ्ग गाउँपालिका वडा नम्बर ४ स्थित २ सय ३७ औं शाखा कार्यालय छार्काताङ्गसोङ्गको पनि कारोबार शुरू गरिएको छ ।
प्रकाशित मिति : September 15, 2019 at 7:47 pm







