८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

जिल्ला खेलकुद विकास समितिहरू पदाधिकारीविहीन रहन दिँदैनौं : मन्त्री विश्वकर्मा

२९ भदौ, कास्की । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले जिल्ला खेलकुद विकास समितिहरूमा लामो समय पदाधिकारी रिक्त रहने अवस्था आउन नदिइने बताएका छन् ।

खेलकुद पत्रकार मञ्च गण्डकीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले साविक क्षेत्रीय खेलकुद विकास समिति र जिल्लामा पदावधि सकिएर रिक्त पदमा संसद्को चालू अधिवेशनबाट खेलकुद ऐन पारित भए सोही अनुसार र नभए मौजुदा कानूनअनुसार नै पदाधिकारी नियुक्त गरिने बताए ।

राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा खेलकुद ऐन छलफलमा रहेको जानकारी दिँदै मन्त्री विश्वकर्माले भने, “चालू अधिवेशनबाट खेलकुद ऐन पारित भएको खण्डमा ऐनको व्यवस्थाअनुसार गर्दछौँ, पारित नहुने परिस्थिति आएमा लामो समय जिल्लाहरू रिक्त रहन दिँदैनौँ ।”

खेलकुद ऐन आएलगत्तै प्रदेश सरकारहरूले आ–आफ्नो प्रदेशमा सङ्घीय संरचनाअनुसार खेलकुदको विकासका लागि प्रदेशस्तरीय संरचना बनाउन सक्ने भनाइ मन्त्री विश्वकर्माको छ ।

आगामी मङ्सिर १५ देखि २४ गतेसम्म सञ्चालन हुने १३औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) देशको प्रतिष्ठासँग जोडिएकाले सरकार, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् तथा विभिन्न खेल सङ्घहरू प्रतियोगिता भव्य बनाउन लागिपरेको बताउँदै मन्त्री विश्वकर्माले काठमाडौँ तथा पोखरामा हालसम्म भौतिक पूर्वाधार निर्माणको काम सन्तोषजनक रुपमा अघि बढेको उल्लेख गरे ।

यही भदौ २६ गते बिहीबारको मन्त्रिपरिषद् बैठकले साग सञ्चालन व्यवस्थापन कार्यविधि मस्यौदा पारित गरिसकेको बताउँदै उनले आगामी असोज १० गतेभित्रमा खेलकुदमन्त्रीको अध्यक्षतामा रहेको आयोजक समितिको बैठक बसेर कार्यविधिअनुसार सबै समिति गठन गरी पूर्ण क्षमतामा काम अघि बढाइने छ, भने ।

सागको आयोजनास्थल पोखरासमेत रहेकाले यहाँ पनि खेलकुदमा लागेका अनुभवी व्यक्ति र खेल सङ्घका पदाधिकारीहरूलाई समावेश गरेर स्थानीय व्यवस्थापन सहजीकरण समिति गठन गरिने मन्त्री विश्वकर्माले बताए ।

राखेपका सदस्य राजेशकुमार गुरुङले सागको तयारीमा पोखरा जुटिसकेको बताउँदै पोखरा फुटबल रङ्गशालाको निर्माण सामग्री फ्रान्स र कोलकत्ताबाट आउन शुरू भएको जानकारी दिए ।

मञ्चका अध्यक्ष एकराज गिरीले प्रचारप्रसारको माध्यमबाट सागलाई सफल बनाउन पोखरेली पत्रकारहरू तयार रहेको उल्लेख गरे ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आईतवार १६:५१