११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

नेता, कार्यकर्तालाई एकताबद्ध भएर पार्टीका कार्यमा लाग्न नेता रावल आग्रह

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम इन्चार्ज भीम रावलले पार्टीका सबै तहका नेता, कार्यकर्ता र सदस्यलाई एकताबद्ध भएर पार्टी काममा लाग्न आग्रह गर्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तह कमिटीको टुङ्गो लागेको बताउनुभयो ।

“सुदूरपश्चिममा पार्टी एकीकरणको काम सम्पन्न भइसकेको छ”, उहाँले भन्नुभयो, “अब भ्रातृ सङ्गठन एकीकरणको काम पनि छिट्टै टुङ्गो लगाइने छ ।

उहाँले जिल्ला, नगरपालिका तथा गाउँपालिकामा कमिटी निर्माण भइसकेकोले विकास निर्माणका काममा सघाउन र पार्टीका राम्रा गतिविधिलाई जनस्तरसम्म लैजान आग्रह गर्नुभयो ।

दुई दिनसम्म बसेको प्रदेश पदाधिकारीहरुको बैठकले सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहको पूर्ण कमिटीसँगै अधिकांश वडा कमिटी पनि टुङ्गो लगाइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । बैठकमा प्रदेश इन्चार्ज भीम रावल, स्थायी समिति सदस्य लेखराज भट्ट, प्रदेश अध्यक्ष कर्णबहादुर थापा, सहइन्चार्ज लक्ष्मी जोशी, खगराज भट्ट, भानुभक्त जैशी तथा सचिव नेपबहादुर चौधरी सहभागी रहनुभएको थियो ।

प्रकाशित मिति : 13:57