११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

कर्मचारी व्यवस्थापन गर्न समस्या परेको छः मन्त्री पुन

२४ भदाै, गण्डकी । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले प्रदेशभित्रका अस्पतालमा कर्मचारी व्यवस्थापन गर्न समस्या परेको बताउनुभएको छ । अस्पताल व्यवस्थापन सुदृढीकरण कार्यक्रमअन्तर्गत न्यूनतम सेवा मापदण्ड फलोअप कार्यक्रमबारे जानकारी दिने उद्देश्यले दमौली अस्पतालले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले कर्मचारी समायोजनका कारण प्रदेशभित्र कर्मचारी व्यवस्थापन गर्न समस्या परेको जानकारी दिनुभयो ।

मन्त्री पुनले कर्मचारी समायोजनका क्रममा धेरै कर्मचारीले सङ्घ रोजेका कारण प्रदेशमा कर्मचारी अभाव भएको उल्लेख गर्दै जनशक्ति व्यवस्थापनका लागि स्वास्थ्यमन्त्रीसँग पटक–पटक छलफल गरेपनि समस्या समाधान हुन नसकेको बताउनुभयो । “धेरै अस्पतालहरुमा कर्मचारी रिक्त छन्, कर्मचारीको व्यवस्थापनमा सरकारलाई समस्या परिरहेको छ,” उहाँले भन्नुभयो, “भइरहेको जनशक्ति व्यवस्थापन गर्दै जनतालाई उच्चतम सेवा प्रवाह गर्न सक्नुपर्दछ ।”

दमौली अस्पतालका प्रमुख डा सुनिल पौडेलले कर्मचारी अभावकै बीचमा पनि आफूहरुले जनतालाई गुणस्तरीय सेवा प्रवाह गरिरहेको बताउँदै अस्पतालमा सरकारीतर्फ २४ को दरबन्दी भएपनि हाल १८ जना र अस्पताल विकास समितिमार्फत् ३३ जना कर्मचारी कार्यरत रहेको जानकारी दिनुभयो । दमौली अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले अस्पतालमा केही सुधारका प्रयास भइरहेको बताउँदै अस्पतालको स्तरोन्नति आवश्यक रहेको छ भन्नुभयो ।

प्रकाशित मिति : September 10, 2019 at 2:16 pm