धनुषाको हंशपुर नगरपालिकामा मेयर र उपमेयरको झगडामा पर्दा एक सर्वसाधारणको मृत्यु
१९ भदाै, जनकपुर । धनुषाको हंशपुर नगरपालिकामा मेयर र उपमेयरको झगडामा पर्दा एक सर्वसाधारणको मृत्यु भएको छ । ज्यान गुमाउनेमा हंशपुर नगरपालिका – २ का स्थानीय ५५ तपेश्वर मण्डल रहेका छन् । मण्डलको जनकपुर अंचल अस्पतालमा उपचारको क्रममा मंगलबार साँझ ज्यान गएको हो । नगरपालिका कार्यालय सार्ने विषयमा मेयर र उपमेयरबीच विवाद भएपछि दुबैले कार्यकर्ता र शुभेच्छुक सर्वसाधारण उतारेर शक्ति प्रदर्शन गरेका थिए ।

वडा नम्बर २ बघचौडामा रहेको नगरपालिकाको कार्यालय मेयर रामज्ञान मण्डल बस्दै आएको वडा नं. ३ को बेल्हीमा सार्न खोजेपछि उपमेयर रेणु झाले अवरोध गरेकी थिइन । सोहीक्रममा दुइ समूहबीच गएको साउन २१ गते झडप भएको थियो । त्यस क्रममा प्रहरीले हस्तक्षेप गर्दा उपमेयर समूह र प्रहरीबीच समेत झडप भएको थियो । झडपको क्रममा प्रहरीको लाठीचार्जबाट उपमेयर झासहित ६ जना घाइते भएका थिए । गम्भीर घाइते भएका उपमेयर पक्षका मण्डलको उपचारको क्रममा झण्डै एक महिनापछि मंगलबार ज्यान गएको हो ।
प्रकाशित मिति : September 5, 2019 at 10:45 am









