कर्णाली प्रदेश सरकारबाट पदमुक्त गरिएकाे २३ दिनपछि पूर्व मन्त्री खत्री अदालतमा हाजिर
१८ भदौ, सुर्खेत । कर्णाली प्रदेश सरकारबाट पदमुक्त गरिएका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री खड्क बहादुर खत्री २३ दिनपछि अदालतमा हाजिर भएका छन् । बुधवार उच्च अदालत पाटनमा हाजिर भएका छन् । साउन २७ गते मन्त्री बहाल रहेकै बेला खत्रीलाई ३ दिनभित्र अदालतमा हाजिर हुन भनेपनि २३ दिनपछि मात्रै उनी उपस्थित भएका छन् ।
खत्री बुधवार उच्च अदालत पाटनको वाणिज्य इजलासमा उपस्थित भएका हुन् । अदालतले बयान लिएपछि बुधवारै थुनछेक बहस हुने बताइएकाे छ ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बैंकिङ कसूरका आरोपी खत्रीलाई साउन ३१ गते कर्णाली प्रदेशका पदमुक्त गरिसकेका छन् । कृषि विकास बैंक भोजपुरको नाममा कीर्ते बैंक ग्यारेन्टी बनाएर खत्री लगायतका व्यक्तिले जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेश गरेको अभियोग उनीमाथि छ ।
खत्रीसहित ५ जनाले १ करोड १० लाख ८० हजार रुपैयाँ रकमको कीर्ते बैंक ग्यारेन्टी बनाएको भन्दै अदालतले उनलाई पक्राउ गर्न आदेश दिएको थियो । खत्री तत्कालीन नेकपा एमालेबाट सुर्खेत क्षेत्र नम्बर १ (ख) निर्वाचन क्षेत्रबाट प्रदेशसभा सांसद निर्वाचित भएका थिए ।
प्रकाशित मिति : 15:15









