आधा पेट खाएर बाँच्ने नागरिकको जीवनलाई सुरक्षा प्रदान गर्न रोजगार कार्यक्रम होः मन्त्री विष्ट
१७ भदाै, काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले कार्यक्रम कार्यान्वयनमा सन्दर्भमा गतवर्ष देखिएका सानातिना कमजोरीलाई सच्याउँदै बढीभन्दा बढी प्रभावकारी बनाउनतर्फ सरकारको ध्यान केन्द्रित भएको बताउनुभएको छ । मन्त्री विष्टले मंगलबार मन्त्रालयमा अायोजित एक छलफल कार्यक्रममा बोल्दै गतवर्ष रोजगार कार्यक्रमले विपन्न, गरिब, दलित तथा महिलाको आर्थिक सशक्तीकरणमा ठूलो टेवा दिएको उल्लेख गर्दै उहाँले मुलतः प्रधानमन्त्री रोजगार कार्यक्रम सामाजिक संरक्षणमा आधारित रहेको प्रष्ट पार्नुभयो ।

“आधा पेट, एक पेट खाएर अत्यन्त दर्दनाक जीवन बाँच्ने नागरिकको जीवनलाई सुरक्षा प्रदान गर्न रोजगार कार्यक्रम आएको हो”, उहाँले भन्नुभयो, “सरकारले काम गरेर खान पाउने अवस्था सिर्जना गर्ने हो । यो विशुद्ध सामाजिक संरक्षणको कार्यक्रम हो ।” गरिब, विपन्न समुदायको आर्थिक तथा सामाजिक रुपान्तरणमा सहयोग गर्ने ढङ्गले कार्यक्रम निर्माण गर्नुपर्ने आवश्यकता बोध गर्दै मन्त्रालयले सरोकारवालासँग छलफल गरेको हो ।

गत आर्थिक वर्षको अन्त्यमा मात्र कार्यान्वयनमा आएको रोजगार कार्यक्रमले छोटो अवधिमा भए पनि झण्डै दुई लाखलाई रोजगारी उपलब्ध गराएको थियो । रोजगारीका अवसर सिर्जना गर्न सात हजार ४६० सामुदायिक आयोजना सञ्चालन गरिएको थियो । गत आवमा सरकारले रोजगार कार्यक्रम सञ्चालन गर्न रु तीन अर्ब १० करोड बजेट विनियोजन गरेको थियो । सरकारले चालु आर्थिक वर्षमा कार्यक्रम सञ्चालन गर्न रु पाँच अर्ब एक करोड बजेट विनियोजन गरेको छ ।
प्रकाशित मिति : 18:34









