सामाजिक र राजनीतिक जागरणमा महिला र तीजको भूमिका महत्वपूर्णः मुख्यमन्त्री पोखरेल
१६ भदाै, वुटवल । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले हिन्दू नारीको पर्व हरितालिका (तीज), पारिवारिक मिलन र सामाजिक सद्भावको पर्व भएको बताउनुभएको छ । तीजको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै पोखरेलले स्वदेश तथा विदेशमा रहनुभएका समस्त महिला दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै युगौँदेखि मानिँदै आएको यो पर्वले नेपालमा सामाजिक र राजनीतिक जागरण ल्याउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो ।
“जहाँनिया राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था र शाही शासनको कठिन अवस्थामा नेपाली महिलाले गरेको सङ्घर्ष र यो सङ्घर्षमा तीज पर्वको महत्वका बारेमा विशेष स्मरण गर्दछु”, पोखरेलले जारी गर्नुभएको सन्देशमा भनिएको छ । “जनाधिकार कुण्ठित भएको ती कठिन दिनमा महिलाले तीज गीतमार्फत तत्कालीन राज्यव्यवस्थाविरुद्ध जनमत बलियो बनाउन निकै ठूलो भूमिका खेलेको सबैका सामु छर्लङ्ग छ, तीज पर्वमार्फत राजनीतिक जागरण ल्याएर नागरिकलाई सङ्गठित गर्दै आन्दोलनलाई उत्कर्षमा पु¥याउँदै अहिलेको परिवर्तन सम्भव भएको हो”, सन्देशमा उल्लेख छ ।

जनचाहना र जन आकाङ्क्षाअनुसार परिवर्तनलाई संस्थागत गर्ने अभियानमा तीज पर्वले सार्थक भूमिका खेल्ने अपेक्षा लिएको बताउँदै पोखरेलले राज्यको माथिल्लो तहदेखि तल्लो तहसम्मका सबै संरचनामा महिलाको समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरेर नेपालको संविधान विश्वमै नमूना बनेको स्मरण गर्नुभएको छ ।
“महिलासम्बन्धी विभिन्न हकलाई संविधानले मौलिक हकका रुपमा व्याख्या गरेको छ, संविधानमा व्यवस्थित हक अधिकारको उपभोग गर्दै जाँदा केही वर्षमै व्यवहारिक रुपमा नतिजा देखिने छ, विगतका सङ्घर्षबाट प्राप्त उपलब्धिको सही प्रयोग गरेर समतामूलक र समावेशी नेपाली समाज निमार्णको अभियानमा सबै जुट्न म हार्दिक अपिल गर्दछु”, मुख्यन्त्री पोखरेलले सन्देश उल्लेख गर्नुभएको छ ।
उहाँले हरितालिका (तीज) पर्व पारिवारिक मिलन गराउने र सामाजिक सद्भाव बढाउने पर्व भएको भन्दै पारिवारिक र सामाजिक सामिप्यता बढ्दा मुलुकमा विश्वासको बातावरण बन्ने र राष्ट्रिय एकता र मेलमिलाप बढाउन मद्दत मिल्ले बताउनुभएको छ ।
प्रकाशित मिति : 09:28









