८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

तनहुँमा सञ्चालित आठवटै तुइन हटाएर निर्माण गरियाे झोलुगें पुल

१५ भदौ, तनहुँ । तनहुँमा सञ्चालित आठवटै तुइन विस्थापित गरी झोलुगें पुल निर्माण गरिएको छ । जोखिमपूर्ण यात्राको रुपमा लिइने तुइन विस्थापित गरी त्यस क्षेत्रमा झोलुगेंपुल निर्माण गरिएको हो । तनहुँमा जिल्ला प्राविधिक कार्यालय र गैरसरकारी संस्था समन्वय समितिले तुइन विस्थापित गरी उक्त स्थानमा झोलुगें पुल निर्माण गरेको जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिनुभयो ।

गैरसरकारी संस्था समन्वय समितिलाई तुइन विस्थापित गर्न ‘प्राक्टिल एक्सन’ नामक संस्थाले आर्थिक तथा प्राविधिक सहयोग गरेको थियो । एक सय २० मिटरभन्दा लामो झोलुगें पुलको काम तत्कालीन स्थानीय विकास मन्त्रालयअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजन र १२० मिटरभन्दा छोटो दूरीका झोलुगें पुलको काम सम्बन्धित जिल्ला विकास समितिमार्फत निर्माण गरिएको थियो ।

जिल्लाको बन्दीपुर गाउँपालिका–६ र देवघाट गाउँपालिका–३ जोड्ने खहरेस्थित सेती नदीमाथिसमेत झोलुङ्गेपुल केही समय अघि निर्माण गरिएको छ । तुइन विस्थापित भएपछि सर्वसाधारणले जोखिमयात्रा गर्नबाट छुटकारा पाएको गैसस समन्वय समितिका महासचिव राजेश्वर हड्खलेले बताउनुभयो ।

तनहुँमा देवघाट गाउँपालिकाको बगन्दी र नवलपुर जोड्ने कालीगण्डकी नदी सोही गाउँपालिकाको कोटा र नवलपुर जिल्ला जोड्ने कालीगण्डकी नदी माथि झोलुङ्गे पुल निर्माण गरिएको छ ।

उहाँले भन्नुभयो, “देवघाटकै गरम नरम र नवलपुरको बुलिमराङ जोड्ने कालिगण्डकी नदीमा तथा व्यास नगरपालिका–१३ र रिसिङ गाउँपालिकाको सोलुङघाट जोड्ने सेती मादी नदीमा तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गरिएको छ ।”

त्यस्तै देवघाट गाउँपालिका–४ र चितवन जिल्लाको भरतपुर महानगरपालिकास्थित मुग्लिङ नारायणखण्ड जोड्ने स्थानमा र शुक्लागण्डकी नगरपालिकाको झरौटा र ढोरफिर्दी जोड्ने सेती नदीमा पनि जिल्ला प्राविधिक कार्यालयले तुइन हटाई झोलुङ्गे पुल निर्माण गरेको छ । रासस

प्रकाशित मिति : September 1, 2019 at 11:23 am