कञ्चनपुरको गड्डाचौकी नाकामा नेपाली लुटिए
१४ भदौ, भीमदत्तनगर । कञ्चनपुरको गड्डाचौकी नाकामा लुटिएका एक नेपाली युवकको उद्धारका लागि सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको टोली त्यहाँ पुगेकाे छ । कञ्चनपुरको गड्डाचौकीबाट आज बिहान भारतमा मजदूरी गरेर घर फर्किरहेका कैलालीको घोडाघोडी नगरपालिकाका हेमन्त बुढामगरको नगद र सामान लुटिएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले गड्डाचौकीमा हालै स्थापना गरेको सीमा सहायता कक्षको सम्पर्कमा आएका युवक बुढामगरको उपचार एवं उद्धारका लागि मन्त्रालयका निमित्त सचिव तेजप्रकाश जोशी यहाँ आइपुग्नुभएको छ ।
महाकाली अञ्चल अस्पतालमा उपचारका लागि युवकलाई ल्याइएको भन्दै निमित्त सचिव जोशीले घटनाको सघन अनुसन्धान र लुटपाट गर्ने गिरोहलाई कानूनी दायरामा ल्याउन पहल गर्ने बताउनुभयो ।“सीमा सहायता कक्षबाट खबर पाउनासाथ हामी युवकको उद्धारका लागि आएका हौं ।” उहाँले भन्नुभयो–“अहिले युवक अर्धचेत अवस्थामा भएकाले घटनाको पूरै विवरण लिन सकिएको छैन ।”प्रदेशको कानून मन्त्रालयले कञ्चनपुरको गड्डाचौकी र कैलालीको धनगढीस्थित त्रिनगर भन्सार नाकामा सीमा सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याएको छ ।
प्रकाशित मिति : August 31, 2019 at 3:44 pm









