८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

चितवनका एसपी मल्लको नाममा नक्कली फेसबुक खोलेर अश्लिल स्टाटस लेख्नेमाथि अनुसन्धान सुरू

१२ भदौ, काठमाडौँ । चितवनका प्रहरी प्रमुख एसपी दान बहादुर मल्लको नाममा नक्कली फेसबुक अकाउन्ट खोली ‘अश्लिल स्टाटस’ राखिएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनले ध्यानाकर्षण भएको जनाएको छ । चितवन प्रहरीले नक्कली फेसबुक एकाउन्ट खोली अश्लिल स्टाटस र फोटो पोष्ट गर्ने कार्यमा संलग्नमाथि अनुसन्धान भइरहेको पनि जनाएको छ ।

एसपी मल्लले आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले खोलिएको नक्कली अकाउन्टबारे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) समेतबाट अनुसन्धान भइरहेको बताए । एसपी मल्लले घटनामा संलग्न जो कोही भएपनि कानुनी दायरमा ल्याउने जनाए ।

गत २० साउनमा पत्रकार शालिकराम पुडासैनी नारायणगढस्थित कंगारु होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए । शालिकरामले मर्नुअघि खिचेको भिडियोमा  टेलिभिजनकर्मी रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीले मर्न बाध्य पारेका उल्लेख गरेका थिए ।

अनुसन्धानको लागि भन्दै रविसहित तीनै जनालाई साउन ३० गते प्रहरीले  पक्राउ गर्यो । रवि लामिछाने पक्राउ परेसँगै रविका फ्यानहरुले एसपी मल्लविरुद्ध नाराबाजी लगाउँदै राजीनामाको माग समेत गरेका थिए । सो समयमा विभिन्न व्यक्तिहरुसँग नाम जोड्दै सामाजिक सञ्जालमा एसपी मल्लको आलोचना पनि भएको थियो ।

रवि लामिछाने पक्राउ परेको भोलिपल्ट अर्थात साउन ३१मा एसपी मल्लको नाममा उक्त फेसबुक आईडी खोलिएको बताइएको छ । जसबाट मल्लको चरित्र हत्या हुनेगरी विभिन्न फोटो र स्टाटसहरु हालिएका हुन् ।

प्रकाशित मिति : August 29, 2019 at 2:01 pm