चकलेट चोर भन्दै तीन बालकलाई कपाल मुण्डनगरी गाउँ घुमाउने कांग्रेस नेताले मागे माफी
१२ भदौ, बारा । नेपाली कांग्रेसका नेता एवं काराको कलैया उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष राजेश्वरप्रसाद केशरी बानियाले तीन बालकमाथि गरेको अमानवीय व्यवहारको क्षमा मागेका छन । उनले चकलेट चोरेको आरोपमा ३ जना बालकलाई कपाल मुण्डनगरी गाउँ घुमाएर सजाय दिएका थिए । कांग्रेस नेता बानियाले जिल्ला प्रहरी कार्यालयमा बारामा बुधबार साँझ सार्वजनिक रुपमा गाँउलेहरुको अगाडि पीडितसँग मुन्टो निहुराएर माफी मागेका हुन्।

प्रहरीले कांग्रेस नेता बानियाले नाबालकहरुलाई घरमा थुनेर कुटपिट गर्ने तथा कपाल मुण्डन गराएको जनाएको छ । प्रहरीका अनुसार गत भदौ १ गते स्थानीय हिरा केशरी बानियाको पसलबाट सोही वडा निवासी रामपुजन मण्डलका ९ वर्षीय छोरा रुपेश, जग्गा पासवानका १० वर्षीय छोरा गुलसन र नथुनी शाह गोरका ११ वर्षीय छोरा राहुलले केही चकलेट चोरेको अभियोगमा कांग्रेस नेता बानियाले त्यस्तो सजाए दिएका थिए । प्रहरीले वडा अध्यक्षले सार्वजनिक रूपमा माफी मागेर आत्मआलोचना गरेका कारण मिलापत्र गरेर घटना मिलाएको जनाएको छ । बानिया स्थानीय तहको निर्वाचनमा फोरम लोकतान्त्रिकको तर्फबाट विजयी भएको भए पनि पछि नेपाली कांग्रेसमा पार्टी विलय भएसँगै अाफू पनि कांग्रेसमै समाहित भएका थिए ।
प्रकाशित मिति : 12:32









