७ जेष्ठ २०८३, बिहिबार | Fri May 22 2026

वैदेशिक रोजगारको क्रममा ज्यान गुमाएका यामबहादुरकाे परिवारलाई निःशुल्क स्वास्थ्य बिमा र शिक्षा प्रदान

३१ साउन, बेझाड ।  वैदेशिक रोजगारको क्रममा ज्यान गुमाएका पाल्पा मागागढी गाउँपालिका–५ हात्तीलुङ्का यामबहादुर गाहाको परिवारलाई निःशुल्क स्वास्थ्य बिमा र शिक्षा प्रदान गरिएको छ । परिवारको अवस्था नाजुक रहेको र धन कमाउन पुगेका युवाको मरुभूमिमै मृत्यु भएपछि गाउँपालिकाले रु एक लाख बराबरको स्वास्थ्य बिमा र छोराको स्नातक तहसम्म पढाइ खर्च सहयोग गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाले स्वास्थ्योपचारलाई मध्यनजर राख्दै चार जनाको परिवारलाई रु एक लाख बराबरको निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गरेको अध्यक्ष सन्तोष थापामगरले बताउनुभयो । “गाहाका तीन वर्षीय छोराले गाउँपालिकाभित्र जुन शैक्षिक संस्थामा अध्ययन गरे पनि स्नातक तहसम्म शैक्षिक खर्च गाउँपालिकाले व्यहोर्नेछ”, उहाँले भन्नुभयो । गाहाको वैदेशिक रोजगारको क्रममा गत साउन १५ गते ३५ वर्षको उमेरमा निधन भएको थियो ।

उहाँको शव साउन २३ गते नेपाल ल्याएर दाहसंस्कार गरिएको आफन्त रेमन सिङ्जालीले बताउनुभयो । लुलु कम्पनीमार्फत रोजगारीका लागि कतार पुगेको ४५ दिनमा मरुभूमिमा काम गर्ने क्रममा माथिबाट ढुङ्गा माटोसहितको ढिस्कोले पुरिएर निधन भएको थियो ।

प्रकाशित मिति : August 16, 2019 at 1:53 pm