७ जेष्ठ २०८३, बिहिबार | Fri May 22 2026

तनहुँमा मोटरसाइकल र कार ठाेकिँदा दुईको मृत्यु

३० साउन, तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँमा आज भएको छुट्टाछुट्टै दुर्घटनामा दुईको मुत्यु भएको छ भने तीन जना घाइते भएका छन् । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग९प ४२६५ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा२१प २८३० नंको कार व्यास नगरपालिका–१२ कमलाबारीमा ठक्कर खाँदा मोटरसाइकलमा सवार आँबुखैरेनी गाउँपालिका–६ का ४८ वर्षीय थोमश बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । घाइते बस्नेतको पोखरास्थित मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक व्यास नगरपालिका–१२ मूलपानी बस्ने २२ वर्षीय उमेश खड्का घाइते छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । कार र चालक प्रहरी नियन्त्रणमा छन् । यसैगरी दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको बा१६च २५२९ नंको जिप र विपरीत दिशाबाट आउँदै गरेको लु२७प ५३९ नंको मोटरसाइकल व्यास नगरपालिका–१२ घाँसीकुवामा ठक्कर खाँदा मोटरसाइकलमा सवार छ वर्षीय सुनिल मगरको मृत्यु भएको छ ।

उनको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक देवदह नगरपालिका बस्ने ३० वर्षीय मीनप्रसाद मगर र २७ वर्षीया सुष्मा मगर घाइते भएका छन् । उनीहरु श्रीमान्÷श्रीमती हुन् भने मृत्यु हुने बालक छोरा हुन् ।

प्रकाशित मिति : August 15, 2019 at 5:51 pm