७ जेष्ठ २०८३, बिहिबार | Fri May 22 2026

पुलमा ट्रक ठोक्किँएर भाँचिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

२९ साउन, कावासोती । नवलपरासीको अरुणखोलामा पुल भाँचिदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । मध्यविन्दु नगरपालिकाअन्र्तगत अरुणखोलामा पर्ने अरुणखोला पुलमा आज बिहान ४ बजेको समयमा ट्रक ठोक्किँदा पुलमा क्षति पुगेपछि अहिले पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताउनुभयो ।


पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना६ख ४७१ नंको ट्रक पुलमा ठोक्किँदा पुल एक स्थानमा क्षति पुगी करीब दुई मिटर तल लच्किएकाले पुलबाट ठूला सवारीसाधान आवतजावत गर्न नसक्ने अवस्था भएको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो । ट्रकसमेत पुलको फलाममा अड्किएकाले निकाल्ने काम भइरहेको उहाँले बताउनुभयो ।

ट्रक निकाले पनि पुलबाट ठूला सवारीसाधन आवतजावतमा समस्या हुने उहाँले बताउनुभयो । बिहान पुलमा क्षति पुगेपछि अहिले यात्रुवाहक बससमेत रोकिएका छन् । प्रहरीले पूर्वबाट आउने सवारीलाई यात्रु उतारे पूर्व नै फर्किने र पश्चिमबाट आएका सवारीलाई समेत यात्रु उतारेर पश्चिम नै फर्किने व्यवस्था गरिरहेको छ । प्रहरी निरीक्षक अधिकारीका अनुसार तत्काल पुल मर्मत हुनसक्ने सम्भावना कम भएकाले चितवन प्रहरी र बुटवल प्रहरीलाई खबर गरी वैकल्पिक बाटोको प्रयोग गरी सवारी सञ्चालनका लागि भनिएको छ ।

बिहानैदेखि सडक अवरुद्ध भएपछि अहिले अरुणखोलामा सवारी रोकिएर लाम लागेको छ । साना सवारीलाई भने एकतर्फी रूपमा सञ्चालन गरिरहेको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो ।

प्रकाशित मिति : August 14, 2019 at 8:11 am