नुवाकोटमा आफ्नै ज्वाइँले ससुरालीमै आएर खुकुरी प्रहार गर्दा सासु, सालो र श्रीमती गम्भीर घाइते
२८ साउन, अर्घाखाँची । अर्घाखाँचीकाे भूमिकास्थान नगरपालिकाको नुवाकोटमा आफ्नै ज्वाइँले खुकुरी प्रहार गर्दा ३ जना गम्भीर घाइते भएका छन् । भूमिकास्थान नगरपालिका-६ खमारीबासका २७ वर्षीय चिरन घर्तीले सोमबार राति भूमिकास्थान नगरपालिका-८ लम्चीमा ससुराली आएर खुकुरी प्रहार गरेका हुन्।

खुकुरी प्रहारबाट ४३ वर्षीया भुमकला क्षेत्री, ११ वर्षीय सालो अर्जुन क्षेत्री र १८ वर्षीया श्रीमती गीता घर्ती गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएकाे छ । खुकुरी प्रहार गरेर तीनैजनालाई घाइते बनाएपछि उनी फरार छन् । घाइते तीनैजनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार हुन नसकेपछि लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाइएकोमा त्यहाँ पनि उपचार हुन नसकेपछि तीनैजनालाई चितवनको पुरानो मेडिकल कलेजमा पठाइएको प्रहरीले जनाएको छ।
घरमा झगडा हुन थालेपछि चिरनकी श्रीमती माइतमा बस्दै आएकी थिइन् । केही वर्ष पहिलेदेखि श्रीमान-श्रीमतीबीचमा झगडा हुँदै आएको स्थानीयले बताए। दुई वर्षअघि श्रीमान्-श्रीमतीको झगडालाई प्रहरी चौकी खिल्जीमा मिलाइएको थियो। मुख छोपेर ससुरालीमा आएका चिरनले परिवारमा रहेका तीनैजनालाई खुकुरी प्रहार गरी भागेका हुन् । फरार रहेका उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : August 13, 2019 at 1:39 pm









