द्वन्द्वपीडित महिला भन्छन्ः अधिकारबाट वञ्चित भयौँ
२८ साउन, वीरेन्द्रनगर । कर्णालीका द्वन्द्वपीडितहरुले आफ्नो बलिदानीले देशमा सङ्घीयतासहित ठूलो परिवर्ततन आए पनि अधिकारबाट वञ्चित भएको गुनासो गरेका छन् । मानव अधिकारका लागि एकल महिला समूहले वीरेन्द्रनगरमा आयोजना गरेको द्वन्द्वप्रभावित महिलाका लागि प्रदेशस्तरीय छलफल कार्यक्रममा सहभागी द्वन्द्वपीडित महिलाले सो गुनासो गरेका हुन् । द्वन्द्वको बेलामा रुकुमको खारामा भएको भिडन्तमा परी घाइते भएकी वसन्ता विष्टले राज्यले आफ्ना पीडाहरु नसुनेको बताउनुभयो ।

“आफ्नो ज्यान धरापमा पारेर सङ्घीयता ल्याउने हामी तर, त्यसको सुविधा अरूले नै भोगिरहेका छन्”, उहाँले भन्नुभयो, “अहिले हाम्रा कुराहरु मन्त्रीहरुले नै सुन्नुहुँदैन । भिडन्तमा परी घाइते भएकी जियसरा शाहीले पनि द्वन्द्वपीडित महिला हकअधिकारबाट वञ्चित रहेको गुनासो गर्नुभयो । द्वन्द्वपीडितको वर्गीकरण र परिचयपत्र वितरणमा समस्या भएको उहाँले बताउनुभयो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले द्वन्द्वपीडितहरुको पहिचान नखुल्दा समस्या भएको बताउनुभयो । त्यसैगरी परिचयपत्र वितरणमा पनि समान ढङ्गले काम गर्न नसकेको पीडितहरुबाट गुनासो आउने गरेको बताउनुभयो । इन्सेकको तथ्याङ्कअनुसार कर्णाली प्रदेशमा तीन हजार दुई सय द्वन्द्वपीडित रहेका छन् । प्रदेशमा रहेका ९९ जनाको अझै पनि पहिचान खुल्न नसकेको सुवेदीले बताउनुभयो ।
प्रकाशित मिति : August 13, 2019 at 1:14 pm









