७ जेष्ठ २०८३, बिहिबार | Fri May 22 2026

स्थानीय तहमा सुत्केरीलाई प्रोत्साहन भत्ता

२८ साउन, कञ्चनपुर । सुत्केरी भएपछि नियमित स्वास्थ्य जाँच गराउने महिलालाई कञ्चनपुरको कृष्णपुर नगरपालिकाले प्रोत्साहनस्वरुप रु ५०० भत्ता दिँदै आएको छ । सुत्केरी भएपछि नियमितरूपमा गराउनुपर्ने स्वास्थ्य जाँच गराउन प्रोत्साहनस्वरुप महिलालाई भत्ताको व्यवस्था गरिएको नगरपालिकाका स्वास्थ्य संयोजक गजेन्द्र विष्टले बताउनुभयो ।

“स्वास्थ्य जाँच नगराउँदा आमा र बच्चाको ज्यान जोखिममा पर्ने खतरा बढ्न थालेपछि नगरपालिकाले भत्ता दिने निर्णय गत वर्ष गरेको थियो”, संयोजक विष्टले भन्नुभयो, “नगरपालिकाले नगरभित्रका महिलाको सवालमा यस्तो पहल गरेको हो ।”

सुत्केरी भएपछि २४ घण्टा, तीन दिन र सात दिनमा गराउनुपर्ने स्वास्थ्य जाँच नियमितरूपमा गर्ने महिलालाई रु ५०० दिने व्यवस्था गरपालिकाले गरेको छ । गत आर्थिक वर्ष नगरपालिकाले प्रोत्साहनस्वरुप स्वास्थ्य जाँच गराउँदा रु ३०० का दरले भत्ता वितरण गरेको थियो । “चालू आवबाट भत्ता रकम बढाएर रु ५०० पु¥याएका छौँ”, विष्टले भन्नुभयो, “नियमित जाँच नगराउँदा रक्तश्राव र बच्चाको तौल कम हुनेजस्ता समस्या देखा पर्न सक्छन् ।”

स्वास्थ्य जाँच गराएवापत प्रोत्साहन रकम पाइने भएपछि नगरपालिकाका अधिकांश सुत्केरी महिलाले नियमित स्वास्थ्य जाँच गर्न थालेको नगरपालिकाले जनाएको छ । गत आर्थिक वर्षमा भने ४४३ महिलाले सुत्केरीपछि नियमित स्वास्थ्य जाँच गराएको नगरपालिकाले जनाएको छ ।

त्यसैगरी चालू आवदेखि नगरपालिकाले ‘उपप्रमुख’ सुत्केरी स्याहार कार्यक्रमसमेत लागू गरेको छ । सो कार्यक्रमबाट सुत्केरी महिलाले रु दुई हजार बराबरको सामान पाउनेछन् । विष्टका अनुसार ७५ प्रतिशतभन्दा बढी महिलाले नियमितरूपमा सुत्केरीपछिको स्वास्थ्य जाँच गराउँदै आएका छन् । नगरपालिकामा आर्थिक २०७४÷७५ मा ५४९ महिला सुत्केरी भएकामा ५२ महिला मात्रै नियमित स्वास्थ्य जाँच गराउन स्वास्थ्य संस्थामा आएका थिए ।

प्रकाशित मिति : August 13, 2019 at 12:12 pm