७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

तनहुँका श्यामबहादुर शाहीको घाँटी रेटेर हत्या

२८ साउन, तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेबजार निवासी ५३ वर्षीय श्यामबहादुर शाहीको सोमबार घाँटी रेटेर हत्या भएको छ । पहिचान नखुलेको व्यक्ति वा समूहले शाहीको घाँटी रेटेर हत्या गरेको हो । शाहीको शव बन्दीपुर गाउँपालिका–४ स्थित ढुल्ढुङ्गाको झाडीमा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिनुभयो ।

डुम्रेबजारमा किराना पसल सञ्चालन गर्दै आउनुभएका शाही आइतबार रातिदेखि बेपत्ता हुनुभएको थियो । शाही खोजीका लागि परिवारले प्रहरीमा अनुरोध गरेको थियो । प्रहरी उपरीक्षक सिलवालका अनुसार मृतक शाहीको घाँटीमा धारिलो हतियारको चोट छ ।

सोमबार माछा मार्न जाने क्रममा स्थानीयवासीले शाहीको शव देखेपछि प्रहरीमा खबर गरेका थिए । शव परीक्षणका लागि दमौली अस्पतालमा पठाइएको र घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका लागि प्रहरीले सोमबार राति नै पोखराबाट तालीमप्राप्त कुकुर मगाएको छ । आर्थिक प्रलोभनका कारण शाहीको हत्या भएको हुनसक्ने अनुमान गरिएको छ ।

“घटनाको अनुसन्धानका लागि कुकुरको सहयोगमा काम शुरु गरिसकेका छौँ”, प्रहरी उपरीक्षक सिलवालले भन्नुभयो, “शङ्का लागेका केही व्यक्तिमाथि पनि निगरानी बढाएका छाँै ।” हत्यामा संलग्न जोसुकै भए पनि चाँडै कानूनको दायरामा आउने प्रहरी उपरीक्षक सिलवालले बताउनुभयो ।

शाही सुनको सौखिन भएको र शरीरमा थुप्रै सुन लगाएर हिँड्ने भएका कारण प्रलोभनले गर्दा शाहीको हत्या भएको हुनसक्ने स्थानीयवासी बताउँछन् । “चार÷पाँच तोला सुन र रु ४०÷५० हजार उहाँसँग सधैँ हुन्थ्यो”, एक स्थानीयवासीले भन्नुभयो, “त्यही प्रलोभनका कारण उहाँको हत्या भएको हुनसक्छ ।रासस

प्रकाशित मिति : August 13, 2019 at 10:15 am