१० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026

राजसंस्था बोक्नु पर्छ: अध्यक्ष थापा

२४ साउन, धुलिखेल । राप्रपाको प्रशिक्षण विभागद्वारा प्रशिक्षक प्रशिक्षण कार्यक्रमको काभ्रेमा उद्घाटन गर्दै राप्रपाका अध्यक्ष कमल थापाले राजसंस्थालाई बोकेर हिँड्नु संवैधानिक अधिकार भएको बताएका छन् । उनले नेकपाका अध्यक्ष प्रचण्डले राजसंस्थाको वकालत गर्नेहरुलाई दासको संज्ञा दिएकोमा आपत्ती प्रकट गर्दै राजसंस्थालाई बोकेर हिँड्नु संवैधानिक अधिकार भएको बताएका हुन् ।

अध्यक्ष थापाले सनातन हिन्दु राष्ट्र, संवैधानिक राजसंस्था र सुदृढ स्थानीय शासनको आवश्यकताको औचित्य अझ बढेकाले राप्रपाले लिएको विचार र एजेन्डा बलियो भएको भन्दै यसलाई भोटमा परिणत गर्नुपर्ने आवश्यकता रहेकाले २०७६ साललाई सङ्गठन निर्माण वर्ष घोषणा गरिएको बताए ।

उनले ७५३ वटै स्थानीय तहका वडासम्म संगठन बनाउने र हिन्दु राष्ट्रको स्थापनाको लागि संकल्प यात्रा गर्ने, भ्रष्टाचार विरुद्ध अभियान चलाउने, गाउँ फर्क अभियान चलाउने लगायतका कार्यक्रम गर्ने बताए । राप्रपा राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताप्रति अडिग पार्टी भएको भन्दै थापाले संविधान निर्माणको समयमा प्रस्तावना मै गणतन्त्र, धर्म निरिपेक्षता र संघीयतालाई अपरिवर्तनीय राखिएकोमा राप्रपाकै कारण परिवर्तनीय बनाइएको दावी गरे ।

राप्रपाले लिएको एजेन्डा स्थपित गर्न प्रयास जारी रहेको र केही समय लाग्न सक्ने भएपनि हरेकले स्वतन्त्र रूपमा एजेन्डा बोकेर हिँड्न पाउने स्वतन्त्रता राप्रपाकै कारण भएको अध्यक्ष थापाको दावी छ । कार्यक्रममा वरिष्ठ नेता दिपक बोहरा, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता भुवन पाठक लगायतले एजेन्डा सहि भएपनि कार्यकर्तालाई पार्टीको विचार, सिद्धान्तबारे बुझाउन प्रशिक्षण कार्यक्रम फलदायी हुने बताए ।

कार्यक्रममा अध्यक्ष कमल थापा, महामन्त्री राजेन्द्र लिङ्देन, प्रवक्ता भूवन पाठक, रमानन्द न्यौपाने, रोजेश रिजाल लगायतले प्रशिक्षण दिने सहायक प्रवक्ता तथा प्रशिक्षण विभागका सदस्य सचिव रामानन्द न्यौपानेले जानकारी दिए । प्रशिक्षण दुई दिन चल्नेछ ।

प्रकाशित मिति : 15:37