७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

भूमिहीनलाई दशैँसम्म लालपुर्जा दिन्छाैँः मन्त्री अर्याल

२० साउन, दमाैली । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले तनहुँको शुक्लागण्डकी नगरपालिका–७ स्याउली बजारका भूमिहीन परिवारलाई दशँैसम्म लालपूर्जा दिने बताउनुभएको छ । लालपूर्जाविहीन अवस्थामा रहेका स्थानीयवासीसँग आज भेटघाट गर्दै मन्त्री अर्यालले दशैँसम्म सबैलाई लालपुर्जा दिएर दशैँ खुशी साथ मनाउने वातावरण निर्माणका लागि सरकारले काम गरिरहेको बताउनुभयो ।

अव्यवस्थित जग्गाको समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय तनहुँले काम गरिरहेको भन्दै मन्त्री अर्यालले उक्त काम सकिने बित्तिकै भूमिहीनलाई लालपुर्जा वितरण गरिने बताउनुभयो । “पुर्जा हातमा दिएर जनतालाई खुशीको दशैँ मनाउने वातावरण निर्माण गर्दैछौँ, त्यसको लागि कर्मचारीले गम्भीर भएर कामलाई टुङ्गोमा पु¥याइदिनु प¥यो”, मन्त्री अर्यालले भन्नुभयो । मन्त्रिपरिषद्ले अव्यवस्थित जग्गाको समस्या समाधानका लागि निर्णय गरिसकेकाले उक्त निर्णय कार्यान्वयनका लागि कर्मचारीले खुट्टा कमाउन नहुने बताउनुभयो ।

सो अवसरमा मन्त्री अर्यालले भूमिमा अनेक खालका चलखेल हुने भन्दै शुक्लागण्डकीमा पनि त्यसको प्रयास भएको सूचना पाएको बताउनुभयो । “यहाँका जनताले पुर्जा पाउँदैछन् भनेपछि सस्तोमा जग्गा किनबेच गर्ने खेल शुरु भएको सूचना पाएको छु”, उहाँले भन्नुभयो, “यो प्रलोभनमा नपर्न स्थानीयवासीलाई आग्रह गर्दछु ।”

मन्त्री अर्यालले जनताको अधिकार सुनिश्चित गर्दै भूमिको व्यवस्थित गर्न आवश्यक रहेकामा जोड दिनुभयो । जमीन बाँझो राखेर समृद्ध मुलुक निर्माण गर्न नसकिने भन्दै मन्त्री अर्यालले जमीनको अधिकतम प्रयोग गरी जनताको जीवन बदल्ने सरकारको सङ्कल्प रहेको बताउनुभयो । सो अवसरमा सांसद केदार सिग्देल र प्रदेशसभा सदस्य आशा कोइरालाले भूमिहीन जनतालाई छिटो लालपुर्जा वितरण गर्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

यस क्षेत्रका ८०० घरधुरी बासिन्दा लामो समयदेखि लालपुर्जाविहीन अवस्थामा रहेका छन् । विसं २०११ देखि जग्गा दर्ता नहुँदा उनीहरु लालपुर्जाविहीन अवस्थामा छन् । विसं २०५६ मा दर्ता प्रक्रियामा रहेका उक्त जग्गा आम निर्वाचनलाई प्रभावित पार्ने भन्दै रोक्का गरिएपछि यहाँका स्थानीयवासीले लालपुर्जा पाउन सकेको थिएनन् ।

प्रकाशित मिति : August 5, 2019 at 7:41 pm