१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

अरुण– ३ जलविद्युत परियोजनाको प्रगतीबारे उर्जामन्त्रीको पुनको चासो

१९ साउन, काठमाडाैँ ।  भारतिय सरकारको लगानीमा निर्माणाधिन अरुण– ३ जलविद्युत परियोजनाको २२ प्रतिशत काम सम्पन्न भएको छ । भारत सरकारको स्वामित्वमा रहेको एसजेवीएन कम्पनीका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले आईतवार उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनलाई भेटी उक्त जानकारी दिनुभएको हो ।

भेटमा मन्त्री पुनले सरकारले जलविद्युत क्षेत्रमा लगानीमैत्री वातावरण बनाएको भन्दै समय सिमा भित्र नै अरुण– ३ परियोजना सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । उहांले नयां कार्यकारी अधिकृतलाई सफल कार्याकालको शुभकामना दिंदै आयोजना निर्माणमा समस्या देखिए सरकार सहजिकरण गर्न तयार रहेको बताउनुभयो ।

‘सरकार र उर्जामन्त्रालयले जलविद्युत क्षेत्रमा लगानीमैत्री वातावरण बनाएको छ, सुरक्षा प्रवन्धको व्यवस्था पनि हामिले मिलाएका छौ । तपाईहरुले समयसिमा भित्र परियोजना निर्माण गर्नुहुन्छ भन्ने विश्वास हामिलाई छ ।’ मन्त्री पुनले भेटमा भन्नुभयो ।

एसजेवीएनका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत धिमानले अरुण– ३ जलविद्युत परियोजना समयसिमा भित्र सम्पन्न गर्ने प्रतिवद्धता जनाउनुभयो । उहांले सरकारको तर्फबाट सहयोग प्राप्त भइरहेको भन्दै स्थानिय जनताले समेत परियोजना निर्माणमा सहयोग गरिरहेको जानकारी दिनुभयो ।

धिमानले टनेलको १२ प्रतिशत काम सहित परियोजनाको २२ प्रतिशत काम सम्पन्न भएको बताउनुभयो । भेटमा मन्त्री पुनले टनेल,आयोजनाको अवस्था, सुरक्षा व्यवस्थालगायतको वारेमा चांसो राख्नुभएको थियो । जवाफमा कार्यकारी अधिकृत धिमानले जग्गा अधिग्रहण, सुरक्षा अवस्था र परियोजनाको प्रगतीको वारेमा मन्त्री पुनलाई जानकारी दिनुका साथै आवश्यक सहयोग गरिदिन आग्रह गर्नुभयो । उहांले नेपालमा पछिल्लो समय लगानीको लागी राम्रो वातावरण बनेको भन्दै आफ्नो कम्पनी अन्य परियोजनामा समेत थप लगानीको लागी ईच्छुक रहेको जानकारी मन्त्री पुनलाई दिनुभयो ।

९ सय मेगावाट क्षमता रहेको अरुण तेस्रो जलविद्युत आयोजनाबाट उत्पादित कुल विद्युतको झन्डै २२ प्रतिशत बिजुली नेपाललाई निशुल्क उपलब्ध गराउने गरी सम्झौता भएको आयोजनाको शिलान्याश प्रधानमन्त्री केपी शर्मा ओली र भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुभएको थियो । आयोजनाले उत्पादन थालेको २५ वर्षपछि उक्त परियोजना नेपालको स्वामित्वमा आउने गरी सरकारले सम्झौता गरेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आईतवार १४:४३