कैलालीमा वन सम्बन्धी अपराधका घटना घट्यो
१६ साउन, लम्की । कैलाली जिल्लामा वन बिनास र वन्यजन्तु अपराधका घटनामा कमी आएको छ । कैलाली डिभिजन वन र्यालयका प्रमुख रामचन्द्र कँडेलले आर्थिक वर्ष २०७५÷०७६ मा चितुवा र बाघको तस्करी शून्यमा झरेको बताउनुभयो । आर्थिक वर्ष २०७५÷०७६ उक्त कार्यालयमा काठ चोरी निकासीमा संलग्न छ जना पक्राउ परेकामा दुई वटा मात्रै मुद्दा दायर गरिएको उहाँले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७४÷०७५ मा बाघको आहारा प्रजाति तस्करीमा संलग्न छ र काठ चोरी तस्करीमा संलग्न नौ जना पक्राउ परेकामा पाँच वटा मुद्दासमेत चलाइएको थियो ।

आव २०७३÷०७४ मा बाघको आहारा प्रजाति (चित्तल, जरायो, रतुवा, बँदेल, खरायो आदि) तस्करीमा संलग्न आठका साथै काठ चोरी तस्करीमा संलग्न ३३ जना पक्राउ परेका थिए भने आव २०७२÷०७३ मा बाघको आहारा प्रजाति तस्करीमा संलग्न ११ र वन अतिक्रमण तथा काठ चोरी तस्करीमा संलग्न ८३ जना पक्राउ परेका थिए । तीमध्ये ३७ जनालाई चलाइएको थियो ।
आव २०७१÷०७२ मा गैँडा तस्करीमा संलग्न तीन, बाघ तस्करीमा संलग्न पाँच, बाघको आहारा प्रजाति तस्करीमा संलग्न २४, काठ चोरी सिकारीमा १३३, जडीबुटी तस्करीमा एक र वन अतिक्रमणमा संलग्न पाँच गरी १७१ पक्राउ परेका थिए । सो वर्ष जिल्ला वनले ७५ जनामाथि मुद्दा चलाएको थियो । वन अधिकृत कँडेलले भन्नुभयो, “पछिल्लो समय जिल्लामा वन र वन्यजन्तु अपराधका घटनामा कमी आएको तथ्याङ्कले देखाएको छ ।” उहाँका अनुसार कैलालीको सीमासम्म जोडिएको जिल्ला भएकाले वन्यजन्तु तस्करीको बाटो बन्दै गए पनि सबैको सक्रियताले न्यूनीकरणमा सहयोग पुगेको हो ।
“संरक्षण क्षेत्र बाहिर वन्यजन्तुको आवतजावत बढी हुने, मानव तथा वन्यजन्तुबीच द्वन्द्व हुनु, जैविक मार्गको पुनःस्थापना नहुनु र स्थानीय जनताको प्राकृतिक स्रोतमाथि अधिक निर्भरताका कारण पनि वन्यजन्तु अपराधका घटना बढ्छन्”, वन अधिकृत कँडेलले भन्नुभयो, “संरक्षण शिक्षा र जनचेतनाका कार्यक्रम गर्नुपर्छ, शहरीकरण, अतिक्रमण, अवैध चोरी निकासी तथा पैठारी, वन डढेलो नियन्त्रणमा स्थानीयवासीको पनि सहयोग चाहिन्छ।”
उहाँले सडक निर्माण जस्ता कार्यले वन्यजन्तु आवतजावत हुने सडक क्षेत्रमा ‘अन्डरपास’ र ‘ओभरपास’को व्यवस्था नहुँदा पनि वन्यजन्तुको शिकार बढेको बताउनुभयो । उक्त कार्यालयको तथ्याङ्कमा दुर्घटनामा वन्यजन्तु मृत्युको सङ्ख्यासमेत शून्यमा झरेको थियो । कैलालीमा निर्माणाधीन हुलाकी राजमार्ग वसन्ता करिडोर क्षेत्रमा परेपछि वन्यजन्तुको बासस्थानमा असर पर्ने भन्दै करीब दुई किलोमिटर बाटो निर्माण रोकिएको उक्त कार्यालयले जनाएको छ ।
प्रकाशित मिति : August 1, 2019 at 3:39 pm









