कलंकी गोलीकाण्डः इञ्जिनियरबाट बरामद गरिएको पेस्ताेबाट गाेली नचलेकाे पुष्टि
१६ साउन, काठमाडौं । कलंकीस्थित पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा गोली चलेको घटनामा संलग्न भएकाे भनिएका पूर्वइञ्जिनियर शुभांकर खनालबाट बरामद गरिएको लाइसेन्स प्राप्त हतियारबाट गोली नचलेको फरेन्सक जाँचबाट खुलेको छ । सामाखुशीस्थित केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा गरिएको ब्यालेस्टिक जाँचको नतिजा ‘नेगेटिभ’ आएको काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी उत्तमराज सवेदीले बताए ।

हतियारसहित पक्राउ परेका पूर्वइञ्जिनियर खनाललाई सोधपुछ गरिए पनि अन्य सबुत नभेटिएपछि साधारण तारेखमा छाडिएको थियो भने घरबाट बरामद दुई थान हतियार र ५० राउण्ड गोली परीक्षणका लागि पठाइएको थियो ।
पूर्वउपसचिव शर्माकी १९ वर्षीया छोरी पढिरहेको कोठामा सोमबार साँझ एक्कासी सिसा फुटेपछि हेर्दा २.२ एमएमको गोली भेटिएको थियो । घटना दूर्घटनावश भएको हुनसक्ने अनुसन्धान अधिकृतले आशंका गर्दै आएका थिए । तर, गोली कसले र कहाँबाट चलाएको थियो भन्ने अझै खुल्न सकेको छैन ।
प्रकाशित मिति : August 1, 2019 at 1:50 pm









