२६ फाल्गुन २०८२, मंगलवार | Wed Mar 11 2026

स्यावास सिर्जनाः गण्डकी प्रदेश सरकारले उपप्रमुख चढ्न दिने गाडी एम्बुलेन्स बनाउने घोषणा

८ साउन, काठमाडौँ । गण्डकी प्रदेश सरकारले सबै स्थानीय तहको उपप्रमुखका लागि गाडी किन्ने गरेको निर्णयको स्वयं उपप्रमुखहरूले बिरोध गर्न सुरू गरेका छन । स्थानीय तहमा एम्बुलेन्सको आवश्यकता रहेको औँल्याउँदै उनीहरूले पहिला एम्बुलेन्स किनेर त्यसपछि उपप्रमुखका लागि गाडी किन्न सकिने धारणा राखेका छन ।

यसमा अग्रपंक्तिमा प्रस्तुत गर्दै म्याग्दीको मंगला गाउँपालिकाकी उपाध्यक्ष एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सिर्जना केसीले आफूले सरकारले दिने गाडी एम्बुलेन्स बनाउने घोषणा गरेकी छिन । उनले एक स्थानीय तह एक गाडी हैन एम्बुलेन्स किन्न निर्णय गर्न अनुरोध समेत गरेकी छिन । उनले प्रदेश सरकारले आफ्नो निर्णय कायमै राखे मंगला गाउँपालिकाका लागि प्राप्त हुने गाडी एम्बुलेन्सको रूपमा जनताको सेवामा प्रयोग गर्ने घोषणा समेत गरेकी छिन ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘म गम्भीरतापुर्बक अनुरोध गर्नचाहान्छु गण्डकी प्रदेश सरकार सङ्ग एक स्थानीय तह एक एम्बुलेन्स खरिद गर्ने निर्णय गर्नुस हामी जनप्रतिनिधि जनता लाई सहज हुदा मात्रै आनन्दित अनुभुती गर्न सक्छौ म फेरि यो घोषणा पनि सङ्गै गर्छु कि यदि यो निर्णय कार्यान्वयन भए म उपप्रमुख भएको मङगला गाउपालिका मा उक्त सवारी लाई गाउपालिका एम्बुलेन्स बनाउने घोषणा गर्दछु ।’

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार २१:३८